सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, ९ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्बन्धमा भ्रम फैलाइएको भन्दै अब जनताले त्यसको यथार्थ जानकारी पाइसकेको बताएका छन् । उनले आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा भने, “एमसिसी सम्बन्धका झुटका पर्दा उघ्रिँदै छन्, अन्तमा सत्य नै हुन्छ ।” कांग्रेस सधैँ सत्यका पक्षमा उभिँदै आएको बताउँदै कांग्रेस नेता महतले एमसिसी सम्बन्धमा आफ्नो पार्टीले सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा सधैँ एउटै धारणा स्पष्ट रुपमा राख्दै आएको बताए । विसं २०६८ यताका सबै दल नेतृत्वका सरकार एमसिसी परियोजनामा संलग्न रहेको बताउँदै प्रवक्ता डा महतले अहिले केही राजनीतिक दल र तिनका नेताले सस्तो लोकप्रियताका लागि यस सम्बन्धमा जनतामा भ्रम सिर्जना गर्न खोजेको टिप्पणी गरे । एमसिसीको अनुदान नेपालको प्राथमिकताअनुसार पूर्वाधार परियोजनामा लगानी हुने उल्लेख गर्दै उहाँले संसद्बाट अनुमोदन हुने विश्वास व्यक्त गरे ।सरकारले एमसिसीसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आइतबारको बैठकमा टेबल गरेको छ । ढिलै भए पनि एमसिसीसम्बन्धी प्रस्ताव संसद्मा टेबल भएको बताउँदै उनले यो प्रस्ताव अनुमोदन हुने विश्वास व्यक्त गरे । यसमा सबै दलबीच सहमति हुनुपर्नेमा उनको जोड थियो । झन्डै रु ६० अर्बको अनुदान सहयोग नेपालको प्राथमिकताका आयोजनामा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा ठेक्कामार्फत खर्च हुने एमसिसी राष्ट्र हित विपरीत हुन नसक्ने बताउँदै कांग्रेस नेता महतले यो परियोजना अनुमोदन भएपछि आगामी दिनमा यस्ता अनुदान अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा मात्रै ठेक्कामार्फत खर्च हुने प्रचलन कायम समेत बताए । महामन्त्री शर्माद्वारा पार्टी भवन शिलान्यास
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको गौरादह–३ स्थित पार्टी कार्यालय भवनको आज शिलान्यास गरेका छन् । पार्टी कार्यालय भवनका लागि गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दीपेन्द्र थापाले निःशुल्क उपलब्ध गराएको दुई कट्ठा जमिनमा आज एक कार्यक्रमबीच उनले पार्टी कार्यालय भवनको शिलान्यास गरे । महामन्त्री शर्माले पार्टी भवन पूरा गराउन सबैको सहयोग हुनुपर्ने बताए । पार्टी र परिवार एक भएको चर्चा गर्दै उनले परिवार सक्षम, सबल भए मात्र समाजको नेतृत्व गर्न सक्ने औँल्याए । पार्टी भवनलाई जनताको भावना बुझ्ने घरका रूपमा स्थापित गराउन पनि उनले सुझाव दिए । राजनीतिलाई सेवासँग जोड्नुपर्ने औँल्याउँदै उनले भने, “राजनीतिलाई बदनाम हुनबाट जोगाउन, यसका लागि हाम्रो भूमिका सकारात्मक हुन जरुरी छ ।” महामन्त्री शर्माले एक फरक प्रसङ्गमा अमेरिकी सहयोग परियोजना एमसिसीका विषयमा नक्कली राष्ट्रवाद धेरै छताछुल्ल भइसकेको टिप्पणी गरे । एमसिसी नेपाल आउँदैमा अमेरिकी सेना नआउने जिकिर गर्दै देशको भौतिक पूर्वाधार विकास अपरिहार्य भएको र त्यसका लागि पर्याप्त बजेटको आवश्यक भएका कारण यो नेपाल र नेपालीको हितमा भएको उनको भनाइ थियो । एमसिसी अघि बढाउँदै गर्दा दुई दर्जन देशमा कार्यान्वयन भएको एमसिसी परियोजनाका विषयमा समेत गहन अध्ययन र विश्लेषण गर्नु आवश्यक भएको उनको विचार थियो । पार्टी कार्यकर्ताहरुको सहयोगबाट आफ्नो कार्यकाल भित्रमा कार्यालय भवन निर्माण गरिसक्ने वडा सभापति गोपाल बरालले बताए ।