प्रधानमन्त्री र राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

सोमबार, फागुन ९, २०७८

काठमाडौँ, ९ फागुन ।  प्रधानमन्त्री शेरबहादुर देउवा तथा राष्ट्रपति विद्यादेवी भण्डारीले आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेकामा नेपाली क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन् । 
ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेपछि आज साँझ ट्विट गर्दै प्रधानमन्त्री देउवाले क्यानडाविरुद्ध आठ विकेटको जीत निकाल्दै ‘टी–२० विश्वकप ग्लोबल छनोट’को सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई दिएका हुन् । 
प्रधानमन्त्री देउवाले ट्विट गर्दै भनेका छन्, “क्यानाडाविरुद्ध जीत निकाल्दै टी– विश्वकप ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई । मङ्गलबार हुने सेमिफाइनलमा पनि विजयी हुँदै नेपाललाई विश्वकपमा छनोट गराउन सफल हुनुहुनेछ भन्ने सुभेच्छासहित सम्पूर्ण टोलीलाई शुभकामना व्यक्त गर्दछु ।”

यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि नेपाल आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकामा नेपाली टोलीलाई बधाई ज्ञापन गरेकी छन् ।
ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेपछि आज साँझ ट्विट गर्दै राष्ट्रपति भण्डारीले नेपाली क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई हार्दिक बधाई दिएकी हुन् । राष्ट्रपति भण्डारीले ट्विटमा लेखेकी छन्, “ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली टोलीले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस्, अग्रिम शुभकामना !”  
ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल क्यानडालाई आठ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।  
 

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  २१:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार