एमसीसीको विरोधमा प्रदर्शन गर्ने १३ जना प्रहरी नियन्त्रणमा

आइतबार, फागुन ८, २०७८

काठमाडौँ, ८ फागुन । अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ । संसद् भवन नयाँ बानेश्वर परिसरमा भएको एमसिसी विरोधी प्रदर्शनका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।  प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही व्यक्ति घाइते भएका छन् । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विष्णुकुमार केसीका अनुसार प्रहरीतर्फ १० घाइते भएका छन् । अहिले उपत्यकाको सुरक्षा अवस्था सामान्य रहेको छ । प्रदर्शनकारीतर्फ पनि केही व्यक्ति घाइते भएको बताइएको छ ।
भीड नियन्त्रणमा लिन प्रहरीले सामान्य लाठीचार्ज, अश्रु ग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गर्नाका साथै सडक अस्तव्यस्त पारेका थिए । बिजुली बजारदेखि बानेश्वर हुँदै तीनकुने पुलसम्म प्रदर्शनकारीको अवरोधले कामकाजी सर्वसाधरणले शास्ती बेहोर्नुपरेको थियो । सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गरी उल्लेख्य सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिको थियो ।

प्रभावित सडक खुल्यो
एमसीसीको विरोधमा भएको प्रदर्शनका कारण दिनभरजसो अस्तव्यस्त बनेको नयाँ बानेश्वर क्षेत्रको सडक केहीबेर अघि खुलेको छ । 
प्रभावित सडक खुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासले प्रभावित नयाँ बानेश्वर क्षेत्रको सडक खुलेकाले यातायात सामान्य रुपमा सञ्चालन भइरहेको जानकारी दिए । बिजुली बजारदेखि बानेश्वर हुँदै तीनकुने पुलसम्म प्रदर्शनकारीको अवरोधले कामकाजी सर्वसाधरणले शास्ती बेहोर्नुपरेको थियो ।
सडक प्रभावित हुँदा विद्यालका विद्यार्थी, कर्मचारी तथा अत्यावश्यक कामले आवतजावत गर्ने जनसाधरणले सहज रुपमा यात्रा गर्न पाएनन् । माइतीघरदेखि तिनकुनेसम्मको सडक अवरोध भएपछि बागमती करिडोर र चक्रपथको बाटो भएर सवारी साधनको अत्याधिक चाप थियो । 
नयाँ बानेश्वरस्थित संसद् भवनको दक्षिण गेट अगाडिपट्टिको सडकमा एमसिसीको विरोधमा प्रदर्शन गरिएपछि उक्त क्षेत्रको यातायात आवागमन दिनभरजसो अस्तव्यस्त भएको थियो । प्रदर्शनकारी र प्रहरीबीच दोहोरो झडपसमेत भएको र दुवैतर्फ केही घाइतेसमेत भएको जनाइएको छ । दिउँसो सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै माइतीघर–तीनकुने सडकखण्डमा सवारी आवतजावतमा रोक लगाइएको थियो ।
 

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १९:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार