स्थानीय तहको निर्वाचनः प्रमुखको दाबी गर्दै उपप्रमुख

आइतबार, फागुन ८, २०७८

चितवन, ८ फागुन । पाँच वर्ष पालिकाको अनुभव सङ्गालेका उपप्रमुखहरुले आगामी स्थानीय तहको निर्वाचनमा प्रमुखको दाबी गरेका छन् । उनीहरुले आ–आफ्नो पार्टीमा दाबी प्रस्तुत गर्ने जनाएका हुन् । जिल्लाका सात पालिकामध्ये एक महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका छन् । 
पालिकाहरुको उपप्रमुखमा दुई पुरुष छन् भने पाँच महिला छिन् । ईच्छाकामना गाउँपालिका बाहेक नेतृत्व नेपाली कांग्रेसको छैन । उपप्रमुखमा दुई कांग्रेस र पाँच नेकपा (एमाले) का छन् । प्रमुखमा दुई माओवादी केन्द्र र चार नेकपा एमालेका छन् । निर्वाचनको समिकरण कसरी जान्छ, त्यसको पर्खाइमा रहेका उपप्रमुख आफ्नो तर्फबाट आफूले नेतृत्व गर्न पाउनुपर्ने दाबीमा धेरै छन् । केहीको मनसाय उपप्रमुख नै दोहो¥याउने छ ।
आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरी नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन् । पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गर्ने क्रममा नेतृत्वले स्थानीयस्तरमा अवसर दिने भनेपछि आफू पछि हटेको उनले बताइन् । उनले भनिन्, “केन्द्रीय सदस्य छोड्दै गर्दा मलाई महानगरको प्रमुखको टिकट दिने आश्वासन छ ।” केन्द्रीय आश्वासन पाएको र पाँच वर्षको अनुभव हासिल गरेकाले आफैले नेतृत्व पाउनुपर्ने उनको दाबी छ । 
महिला सङ्घ चितवनकी अध्यक्षसमेत रहेका ठकुरीले पार्टीले आफूलाई प्रमुखको टिकट दिनेमा विश्वस्त रहेको बताए । यसअघि भरतपुर महानगरपालिकामा प्रमुखमा नेकपा माओवादीका तर्फबाट रेनु दाहाललाई समर्थन गरेर उपप्रमुखमा ठकुरीले टिकट पाउनु भएको हो । केन्द्रीय गठबन्धनको टुङ्गो लागिसकेको छैन । कांग्रेसभित्रबाटै प्रमुखमा अन्य नेताको पनि दाबी छ । 
रत्ननगर नगरपालिकाकी उपप्रमुख बिमला दुवाडी आफ्नो भूमिका नै प्रमुख सरह भएको बताइन् । नेकपा (एमाले) बाट निर्वाचित उनले अबको दाबेदारी स्वतः आफ्नो रहेको बताइन् । उनले भनिन्, “उपप्रमुखमा दोहो¥याएर उठ्दा रमाइलो हुँदैन, अनुभव हासिल गरेको छु, भूमिका पनि मेरै हो ।” पार्टीले आफूलाई अवसर दिनेमा उनी विश्वस्त छिन् । पाँच वर्षको आफ्नो अनुभवलाई उपयोग गरेर नगरपालिकामा काम गर्ने दुवाडीले बताइन् । उनी नेकपा एमालेको जिल्ला कमिटी सदस्य एवं अनेमसङघका उपाध्यक्ष हुन् । नेकपा एमालेबाट रत्ननगरमा प्रमुखका अन्य दाबेदार पनि छन् । 
माडी नगरपालिका उपप्रमुख ताराकाजी महतोले आफ्नो अनुभवका हिसाबले प्रमुखको दाबी स्वभाविक भएको बताए । उनले भने, “पार्टीको निर्णय हामीले मान्नुपर्छ, स्वभाविक रुपमा मेरो दाबी रहन्छ, निर्णय पार्टीको हुन्छ ।” अनुभव र क्षमताको हिसाबले आफूलाई निर्वाचन जित्न सहज हुने उनको दाबी छ । नगरपालिकामा पार्टीका तर्फबाट अन्य नेता पनि आकांक्षी छन् । सो नगरपालिकामा प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार ठाकुर ढकालले जितेको भए पनि उपप्रमुखमा एमालेका तर्फबाट महतो निर्वाचित भएका थिए । 
राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले अबको निर्वाचनमा प्रमुख पदमा आफ्नो दाबी रहने बताए । पाँच वर्षको आफ्नो अनुभवलाई सँगाल्दै नगरपालिकाको प्रमुखमा आफ्नो जित सहज हुने विश्वास व्यक्त गरे । उनले भने, “मलाई विश्वास छ, पार्टीले मलाई टिकट दिन्छ, जित हासिल गर्न पनि सहज छ ।” सो नगरपालिकामा पार्टीका तर्फबाट प्रमुख पदमा अन्य उम्मेदवारको पनि दाबी रहेको छ । नेकपा (एमाले) को प्रदेश कमिटी सदस्यसमेत रहनुभएका लामाले उपप्रमुख भएर आफूले पूर्णरुपमा काम गरेकाले अवसर प्राप्त हुनेमा आफू आशावादी रहेको बताए । 
जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले अबको निर्वाचनमा अध्यक्ष पदमा आफ्नो दाबी रहने बताए । उनले भने, “पार्टीले आफूलाई अवसर दिन्छ भन्नेमा ढुक्क छु ।” नेपाली कांग्रेसबाट निर्वाचित श्रेष्ठले पाँच वर्षमा आफूले उपप्रमुख भएर हाँसिल गरेको अनुभव प्रमुख बन्नका लागि सहयोगी हुने बताए । उनले भने, “पहाडी भूभाग भएकाले भूगोलको पूर्ण ज्ञानसहित अबको नेतृत्व मैले गर्न सक्छु ।” सो गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट अन्यको पनि दाबी रहेको छ । 
खैरहनी नगरपालिकाका उपप्रमुख सुनिता थपलियाले प्रमुखमा आफ्नो दाबी प्रष्ट नभएको बताइन् । उनले पार्टीले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने भन्दै आफूले गरेको कामको मूल्याङ्कन पार्टीले गर्नुपर्ने बताइन् । गएको चार वर्षमा नगरपालिकालाई उत्कृष्ट बनाउन उपप्रमुखतर्फबाट आफूले गरेको योगदान नगरवासीलाई छर्लङ्ग रहेको उनको भनाइ छ । उनी नेकपा एमालेबाट निर्वाचित उपप्रमुख हुन् । 
कालिका नगरपालिकाका उपप्रमुख कमला भट्टराईले आफूले उपप्रमुखमै दोहो¥याउने चाहना राखेको बताइन् । उनले भनिन्, “नगरपालिकामा पाँच वर्षमा गरेको अनुभवले पुनः एक पटक उपप्रमुखमै भएर काम गर्ने सोचमा छु ।” उनी नेकपा एमालेबाट उपप्रमुखमा निर्वाचित भएकी हुन् ।  
जिल्लाका अधिकांश पालिकाका प्रमुख र अध्यक्ष पुनः दोहो¥याउने चाहनामा छन् ।  पार्टीको निर्णय भइनसकेकाले उनीहरु उम्मेदवारीको घोषणा गरेका छैनन् । तर पार्टीमा भित्री रुपमा उनीहरुले लविङ सुरु गरेका छन् । केन्द्रीय र स्थानीयस्तरमा हुने गठबन्धनले पालिकामा प्रमुख र उपप्रमुख कसलाई बनाउने भन्ने टुङ्गो लाग्ने धेरैको बुझाइ छ । चाहना व्यक्त गरे पनि यसका लागि पार्टीले निर्णय गर्नुपर्ने हुन्छ । पार्टीको निर्णय स्वीकार्ने पक्षमा सबै देखिएका छन् ।–रासस 

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १७:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार