सोसल मिडिया
Contact Us
युनिकोड
चितवन, ४ फागुन । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करणका पहिलो चरणका खेल भरतपुरमा हुने भएको छ । भरतपुर महानगरपालिका भित्रका दुई खेल मैदानमा यही फागुन १० गतेदेखि खेल हुने भएको हो । लिगको पहिलो चरणको खेल सञ्चालनका लागि भरतपुर महानगरपालिका र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच सम्झौता भएको छ । सम्झौतापत्रमा महानगर प्रमुख रेनु दाहाल र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले हस्ताक्षर गरेका छन् । महानगर प्रमुख दाहालले राष्ट्रिय महिला लिग भरतपुरमा आयोजना गर्न पाउनु गर्वको विषय भएको बताइन् । एन्फा अध्यक्ष शेर्पाले भरतपुर देशकै मध्यभागमा रहेकाले राष्ट्रिय महिला लिगको पहिलो चरणका खेल यहाँ आयोजना गर्न लागिएको बताए । सम्झौताअनुसार लिग सञ्चालनका लागि महानगरले एन्फालाई रु २० लाख आर्थिक सहयोग उपलब्ध गराउनेछ । राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेल भने विराटनगरमा हुनेछ । लिगका ५६ मध्ये २८ खेल चितवनमा हुनेछ । खेल भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित कृष्णपुर खेल मैदान र वडा नं १९ को खेल मैदानमा हुनेछ । केही दिनभित्रै खेल तालिका सार्वजनिक गरिनेछ । यसपटक महिला लिगमा तीन विभागीय टोली नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सहित, वालिङ, विराटनगर, चपुर, धनगढी र ललितपुर भिड्नेछन् । यसअघि पहिलो संस्करणको महिला लिग काठमाडौँमा भएको थियो ।
शहीद स्मारक बी डिभिजन खेल यसै महिनामा हुने सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता यही फागुन तेस्रो सातादेखि सुरुआत हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ‘बी’ डिभिजन लिग यही फागुन १८ गतेदेखि सुरुआत हुने जनाएको छ । बी डिभिजन लिगमा विभिन्न १४ क्लबको सहभागिता रहनेछ जसमा झम्सिखेल युथ क्लब, सामाजिक युवा क्लब, बाँसबारी क्लब, खुमलटार युवा क्लब, वीरगञ्ज युनाइटेड क्लब, नयाँबस्ती युवा क्लब र छुरच वोइज युनाइटेड क्लब छन् । त्यसैगरी टुसाल युवा क्लब, श्री कुमारी क्लब, ब्वाइज युनियन क्लब, रानीपोखरी कर्नर टिम, सरस्वती युवा क्लब, मध्यपुर युथ एशोसियसन र श्री भगवती क्लब सहभागी छन् । सिङ्गल राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष स्थान हासिल गर्ने दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछन् । यस्तै पुछारका दुई टोली भने रेलिगेसनमा पर्नेछन् । लिगको उद्घाटन खेलमा तीन वटा खेल हुनेछन् । जसमा पहिलो खेल झम्सिखेल युथ क्लब र श्री भगवती क्लवबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा बाँसबारी क्लब र सरस्वती युवा क्लब तथा तेस्रो खेलमा वीरगञ्ज युनाइटेड र बोइज युनियन क्लबबीच प्रतिस्पर्धा हुनेछ ।