सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, ४ फागुन । मछिन्द्र फुटबल क्लबले दुई खेल अगावै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उक्त प्रतियोगिताको उपाधि जितेको हो । मछिन्द्रले अब १२औँ चरणको खेलमा थ्रीस्टार क्लब र अन्तिम खेलमा नेपाल एपिएफ फुटबल क्लबसँग खेल्न बाँकी छ । यी दुवै खेलमा हार बेहोरे पनि दोस्रो स्थानको टोलीले मछिन्द्रलाई भेट्ने छैन अङ्क तालिकाको शीर्ष स्थानमा रहेको मछिन्द्रले ११ खेलमा २९ अङ्क जोडेको छ । मछिन्द्र दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबभन्दा ९ अङ्कले अघि रहेको छ । १० खेल खेलेको मनाङको २० अङ्क रहेको छ । मनाङले अब तीनै खेल जिते पनि ‘हेड टू हेड’का आधरमा मछिन्द्र नै अगाडि हुनेछ । त्यस्तै मछिन्द्रले ११ खेलमा ९ जीत र २ बराबरीको नतिजा निकालेको छ । मछिन्द्रले लगातार दोस्रो पटक उपाधि जितेको हो । यसअघि मछिन्द्रले २०७६ सालमा भएको ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो । त्यतिबेला मछिन्द्रले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि हासिल गरेको थियो । मछिन्द्रको जीतमा अजरबैजानका खेलाडी नुर्लान नोभ्रोजोभ नायक बने । उनले खेलको ५३औँ मिनेटमा गरेको एक गोल नै मछिन्द्रका लागि निर्णायक गोल साबित बन्यो । सुनिल बलको क्रसमा देवेन्द्र तामाङको हेडलाई सातदोबाटोका गोलकिपर अविशेक बरालले बचाए पनि क्रसबारमा लाग्दै फर्किएको बलमा नोर्लानले गोल गर्न सफल भए । यो हारसँगै ११ खेल खेलेको सातदोबाटोले १५ अङ्क जोडेको छ । सातदोबाटो अङ्क तालिकाको छैटौँ स्थानमा रहेको छ ।
आर्मी र हिमालयन शेर्पाबीचको खेल बराबरी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब बीचको खेल बराबरीमा टुङ्गिएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको २६औँ मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । टेकबहादुर बुढाथोकीको पासमा उनले गोल गरे । तर त्यो आर्मीको १–० को अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ६५औँ मिनेटमा हिमालयन शेर्पाका मुताम्बा पिस्टोनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले आशिष गुरुङको पासमा गोल गरेका हुन् । यस्तै खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा गोलकिपर विकेश कुथुले रातोकार्ड पाएपछि आर्मी १० खेलाडीमा समेटिएको थियो । हिमालयन शेर्पाका खेलाडी सुरेश कुमाललाई पेनाल्टी क्षेत्रबाहिर आएर फउल गरेपछि रेफ्री नवीन्द्र मर्हजनले विकेशलाई रातो कार्ड दिएका थिए । यस बराबरी खेलसँगै आर्मीले ११ खेलमा १९ अङ्क जोडेको छ । आर्मी अङ्क तालिकाको तेस्रो स्थानमा यथावत् रहेको छ । त्यस्तै समान खेलको हिमालयन शेर्पाको १२ अङ्क भएको छ । हिमालयन शेर्पा अङ्क तालिकाको आठौँ स्थानमा रहेको छ ।