ओलीका नवनियुक्त सचेतक भट्टराई भन्छन् ‘हाम्रा पक्षमा एक सय सांसद छन्’ 

आइतबार, फागुन १६, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका नवनियुक्त मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका पक्षमा अहिले पनि एक सयभन्दा बढी प्रतिनिधिसभा सदस्य रहेको जिकिर गरेका छन् ।  रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा भट्टराईले प्रधानमन्त्री ओली अल्पमतमा नरहेको बताए । ‘आवश्यक पर्दा बहुमत सिद्ध गरेर देखाउन सकिन्छ’ भट्टराईले भने, ‘प्रधानमन्त्रीलाई बीचैमा हटाउन खोजिएपछि मध्यावधी निर्वाचनको घोषणा हो । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै संसदीय प्रक्रिया अघि बढ्छ ।’ प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते बस्ने कार्यक्रम छ ।  संसद्मा अविश्वासको प्रस्ताव पेश भएमा र पार्टीको ह्विपविरुद्ध कुनै सदस्य लागेमा विधानबमोजिम कारबाही गरिने उनको चेतावनी थियो ।  नेता भट्टराईले प्रधानमन्त्रीविरुद्ध नेकपाको सचिवालयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट प्रस्तुत आरोपपत्र फिर्ता, प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई कार्याकाल पूरा गर्न दिने सहमति भएमा नेकपाको एकता कायम रहने पनि बताए ।  उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्थागत रूपमा प्रधानमन्त्रीको राजीनामा नमागेको पनि स्मरण गरे । प्रधानमन्त्री एवं संसदीय दलका नेता ओलीले शुक्रबार मुख्य सचेतक देवप्रसाद गुरुङलाई हटाएर भट्टराईलाई नियुक्त गरेका थिए ।
 

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  ०६:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार