सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिइ संसद्मा डटेर सामना गर्ने बताएका छन् । पार्टीनिकट अनेरास्ववियुको बृहत् कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा लोकतन्त्रमा विश्वास गर्ने भएकाले सर्वोच्च अदालतले गरेको निर्णयको सम्मान गर्ने बताए । प्रधानमन्त्री ओलीले कसैले राजीनामा माग्दैमा नदिने र संसद्को सर्वोच्चतालाई मानेर संसद्मा नै सामना गर्ने उनले बताए । उनले नेकपाको अर्काे समूहलाई हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउनेसमेत चेतावनी दिए । ‘प्रधानमन्त्रीले अविश्वासको सामना गर्नुहुन्छ । कसको हिम्मत छ अविश्वास प्रस्ताव ल्याउन’, उनले भने, ‘नेकपाले लोकतान्त्रिक विधिबाट आउने सबैको सामना गर्छ ।’ प्रधानमन्त्रीविरुद्ध सडकमा नारा लगाएको भरमा राजीनामा नगर्ने उनले स्पष्ट पारे । ‘अदालतको फैसलालाई मान्दामान्दै पनि सबभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्च अदालतका न्यायाधीश होइनन् र हुन सक्दैनन्’, उनले भने, ‘अदालतभन्दा धेरै शक्तिशाली न्यायाधीश जनता हुन् । जनताले गर्ने फैसलाको प्रतीक्षामा हामीहरू छौँ ।’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ओली नेतृत्वको नेकपाले हरेक परिस्थितिको सामना गर्न तयार रहेको बताउँदै भने, ‘आफ्नो पार्टी निर्वाचनमा जाने र संसद्को सामना गर्ने दुवै विकल्पमा सक्षम छ ।’ नेकपाको स्थायी कमिटी सदस्य रायमाझीले प्रधानमन्त्रीले बाध्य भएर संसद् विघटन गरेको भन्दै पुर्नस्थापना गर्ने अदालतको फैसलालाई पार्टीले स्वीकार गरेको बताए ।