बैंकिङ कसुरमा फरार अभियुक्त पक्राउ

मंगलबार, माघ २५, २०७८

  काठमाडौँ, २५ माघ । बैँकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैँकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १७ लाख ४२ हजार ८७७ जरिवाना गरेपछि फरार रहेकी काठमाडौँ टोखा नगरपालिका–३ धनेश्वरकी ४१ वर्षीया अम्बिका बुढाथोकीलाई आज ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो ।
व्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विसं २०७८ कात्तिक २३ गतेको फैसलापछि ६ दिन कैद र बिगो बमोजिम रु १७ लाख ४२ हजार ८७७ जरिवाना ठहर गरेपछि फरार रहेकी बुढाथोकीलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेकी बुढाथोकीले आफ्नो सिद्धार्थ बैंक लिमिटेड धनेश्वर शाखाको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकी थिइन् । उच्च अदालतले पक्राउ परेकी बुढाथोकीलाई बैँकिङ कसूर तथा सजाय ऐन २०६४ अनुसार उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेकी बुढाथोकीलाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार दोषी २० वर्षपछि पक्राउ

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्तव्य ज्यान मुद्दाका फरार दोषीलाई २० वर्षपछि पक्राउ गरेको छ । आफ्नै श्रीमतीको हत्या गरेर फरार रहेका महावै गाउँपालिका–३ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदे टोल बस्ने ४५ वर्षीय धनराज सिंहलाई प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरेको प्रवक्ता एवं प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।
विसं २०५८ साउन २८ गते आफ्नै श्रीमतीको हत्या गरी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर सिंहलाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि २०५८ भदौ १४ गते कारागार चलान गरेको थियो । प्रहरीका अनुसार उनी २०५८ माघ २ गते सुर्खेत कारागारबाट सुरुङ खनेर फरार रहेका थिए । विसं २०६५ मङ्सिर १३ गते अदालतले अन्तिम फैसला गर्दै सिंहलाई २० वर्षको कैद सजाय तोकेको थियो । पक्राउ गरिएका सिंहलाई अदालतमा पेश गरेर कैद भुक्तानका लागि आजै सुर्खेत कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  २२:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार