युएई र साउदीमा अलपत्र नेपाली श्रमिकको उद्धार

सोमबार, माघ २४, २०७८

काठमाडौँ, २४ माघ  । टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) गई अलपत्र परेका आठ नेपालीलाई सोही म्यानपावरले उद्धार गरी नेपाल ल्याएको छ ।  भिजिट भिसामा युएई पु¥याइ उनीहरू अलपत्र पारेको खबर सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न निर्देशन दिएका थिए । नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनील पन्थ र रमेशजङ्ग शाह, डडेल्धुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, सुर्खेतका झकबहादुर थापा र सङ्खुवासभाका सन्तोष चम्लागाईं गरेका छन् । 
युएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट जनही सात लाख ५० हजार रुपैयाँका दरले रकम लिएर युएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका सञ्चालक भीम गुरुङलाई मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ ले पक्राउ गरेको थियो । यसैगरी केही समयअघि साउदी अरेवियामा बिरामी परी अलपत्र परेका जाजरकोटका आइस रानालाई स्वास्थ्य उपचार गरी आज स्वदेश फर्काइएको छ नेपाली दूतावासका कर्मचारी र श्रम सहचारीको टोलीले उनको उद्धार गरी स्थानीय अस्पतालमा उपचार गरेको थियो । रानासहित साउदी अरबमा अलपत्र परेका चार नेपालीलाई आज स्वदेश फिर्ता गरिएको श्रम काउन्सेलर शत्रुधन पोखरेलले जानकारी दिए 

श्रमिक अस्पतालका लागि अध्ययन टोली गठन
सरकारले श्रमिक अस्पताल निर्माणका लागि पहल थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी अस्पताल निर्माणको सम्भाव्यता अध्ययन टोली गरेको छ । मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख शेषनारायण पौडेलको संयोजकत्वमा गठन गरिएको सम्भाव्यता अध्ययन टोलीले अस्पताल सञ्चालनका लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोत साधन, सञ्चालन मोडालिटीलगायत पक्षबारे अध्ययन गर्ने बताइएको छ । 
टोलीमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधिका साथै संयुक्त ट्रेड युनियन महासङ्घका प्रतिनिधि छन् । मुलुकको आर्थिक विकास र समृद्धिका आधारका रुपमा रहेका लाखौँ श्रमिकलाई भरपर्दो र सर्वसुलब स्वास्थ्य उपचारको व्यवस्था मिलाउन अस्पताल निर्माण गर्न लागिएको मन्त्री श्रेष्ठको भनाइ छ । 
आन्तरिक रोजगारीमा रहेका श्रमिक तथा उनीहरूको परिवारका सदस्यका लागि कार्यस्थल दुर्घटना, मातृत्व संरक्षण, बिरामी हुँदा औषधि उपचार सुविधा उपलब्ध गराउने, पेसागत कारणले लाग्ने रोगको रोकथामका लागि अनुसन्धान, निदान एवं उपचार गर्न विशेषज्ञ अस्पताल विकास गर्ने, योगदानमा आधारिक सामाजिक सुरक्षा कार्यक्रमले उपलब्ध गराउने श्रमिकको स्वास्थ्य उपचारसम्बन्धी व्यवस्था कार्यान्वयन गराउनुका साथै वैदेशिक रोजगारीबाट फर्केका श्रमिक तथा उनीहरुको परिवारका सदस्यका लागि सहुलियतमा उपचार सेवा उपलब्ध गराउने अस्पतला सञ्चालनको उद्देश्यमा उल्लेख छ । 

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  २१:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार