सोसल मिडिया
Contact Us
युनिकोड
कास्की, २३ माघ । पर्वतीय खेलकुदको विकास गर्ने उद्देश्यले पोखरामा आज आयोजना गरिएको छैटौँ संस्करणको ‘महिला÷पुरुष अर्मला पर्वतीय दौड’को उपाधि पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ र महिलातर्फ धरानकी छेन्वी मायाँ राईले जित्न सफल भएका छन् । पोखरा महानगरपालिका–१६ स्थित समुन्द्र सतहदेखि एक हजार ६०० मिटर उचाइमा अवस्थित रमणीय पर्यटकीय गाउँ अर्मलामा श्रीपञ्चमीको अवसर पारेर अर्मला कोट युवा क्लबले पोखराको केआइसिंहपुलदेखि अर्मलाको खेलमैदानसम्म पर्वतीय दौडको आयोजना गर्दै आएको छ । क्लबले पर्यतीय खेलकुदका माध्यमबाट गाउँको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनका लागि सो प्रतियोगिता आयोजना गर्दै आएको छ । अर्मलाकोटलाई यसअघि नै होमस्टे गाउँसमेत घोषणा गरिएको छ । पुरुषतर्फको निर्धारित १२ किमी दूरी ५० मिनेट ४८ सेकेन्डमा पूरा गर्दैै सुमनले उपाधिसहित नगद रु २० हजारका साथमा मेडल र प्रमाणपत्र पुरस्कार पाए भने छेन्वीले निर्धारित दूरी एक घन्टा सात मिनेट ५३ सेकेन्ड समयमा पार गरी नगद रु १० हजारका साथमा मेडल तथा प्रमाणपत्र गर्नुभयो । पुरुषतर्फ बैतडीका मोहन देव द्वितीय हुँदै नगद रु १५ हजार र सिन्धुलीका जितेन्द्र दनुवारले तृतीय हुँदै रु १० हजार पुरस्कार पाए । धरानका मोहनकुमार राई सान्त्वना हुँदै नगद रु पाँच हजार पुरस्कार पाए । महिलातर्फ पोखरा–१६ क सङ्गीता विक द्वितीय, स्याङ्जाका रीता गुरुङ तृतीय र पोखरा हेमजाका ओममाया फगामीले सान्त्वना स्थान हासिल गरेको जिल्ला एथलेटिक्स सङ्घका अध्यक्ष हरि बरुवालले जानकारी दिए । वडातर्फको दौड प्रतिस्पर्धामा पुरषतर्फ साजन विक, प्रकाश राई, राजकुमार क्षेत्री र अजय गुरुङ क्रमश ः प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुँदै क्रमश ः नगद रु आठ, पाँच, तीन र दुई हजार पुरस्कार पाउनुभयो । महिलातर्फ कोमली खड्का र अस्मिता नेपाली प्रथम र द्वितीय हुँदै क्रमश ः नगद रु आठ र पाँच हजार पुरस्कार पाए । ठेलो हान्ने प्रतियोगितामा सिनियरतर्फ पोखरा–१६ का सुरज गुरुङ प्रथम बन्न सफल भई रु पाँच हजार पुरस्कार प्राप्त गरे । विजेता खेलाडीहरूलाई नगद, मेडल तथा प्रमाणपत्र प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङ, पोखरा महानगरपालिका–१६ का वडाध्यक्ष जीवनप्रसाद आचार्य लगायतले वितरण गरे ।