कांग्रेस हतारिएर सरकारमा जाँदैन : पूर्वमहामन्त्री सिंह

शुक्रबार, फागुन १४, २०७७

भक्तपुर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेस अहिलेनै हतारिएर सरकारमा नजाने बताएका छन् । मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा कांग्रेसका युवा नेता एवं खेलाडी अष्ट कँवेले तीन करोड रुपैयाँको लागतमा सञ्चालनमा ल्याएको फिटनेश सेन्टर, स्नोकर हाउस एवं वर्गर हाउसको उद्घाटन गर्दै उनले प्रतिपक्षमै बस्ने जनादेश भएकाले कांग्रेस पाँच वर्ष प्रतिपक्षमै बस्नुपर्ने बताए । नेकपा संसदीय दल अहिले पनि सक्रिय रहेको र पार्टी वैधानिक रुपमा नफुटेका अवस्थामा कांग्रेस सरकारमा गए फसिने बताउँदै नेता सिंहले भने, ‘कांग्रेसले अहिले यो गर्छु, त्यो गर्छु भनेर आफँै फस्ने गरी सरकारमा जान हतारमा निर्णय गर्नु हुँदैन, कम्युनिस्टले हामी सरकार चलाउन सक्दैनौ भनेर आए  मात्रै सोच्ने कुरा हो ।’ कार्यक्रममा खेलाडी एवं नेता कवेँले राजनीति गर्ने व्यक्तिले व्यवसाय आफैँ शुरु गर्नुपर्छ भन्ने मान्यताका साथ निरोग, स्वस्थ्य जीवन र खेलकूदमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आफूले हाउस सञ्चालनमा ल्याएको उल्लेख गरे ।  हाउसले देशविदेशमा प्रतिस्पर्धा गर्दै पदक जित्न सक्ने गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ‘फिटनेस, बडिबिल्डिङ, एरोबिक्स, जुम्बा, स्टिम, सावना, स्नोकर र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ सञ्चालनमा ल्याइएको छ । त्यसबाट हुने आम्दानीको २० प्रतिशत सामाजिक सेवा र खेलकूदको विकासमा खर्च गर्ने गरिने बताइएको छ ।

‘संसद्मा जिम्मेवार भूमिका निर्वाह गर्छ’ 

कांग्रेस उपसभापति विमलेन्द्र निधिले संसद्भित्र कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने बताएका छन् । कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिका नाममा वसुन्धरामा स्थापित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालको नवनिर्मित भवन शिलान्यास तथा शालिक अनावरण कार्यक्रममा उनले लोकतन्त्र, संविधान र जनताका पक्षमा कांग्रेसले संसद्मा भूमिका खेल्ने स्पष्ट पारे । ‘अदालतले संसद् पुनःस्थापना गरिदिएपछि नेकपाका दुवै पक्षले सरकार बनाउन कांग्रेसको साथ, सहयोग खोजिरहेको छ, कांग्रेसले संसद्बाटै उचित निर्णय लिन्छ’, उनले भने । उनले विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र महेन्द्रनारायणका नाममा स्थापना भएका अस्पताललाई जोडेर विश्वविद्यालय निर्माण गर्न सुझावसमेत दिए । कांग्रेस सहकारी विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले शान्ति र अहिंसाबाट भएको परिवर्तन दिगो हुने धारणा राख्ने  निधि सादा जीवन उच्च विचारका व्यक्ति भएको बताए । कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले कम शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराउने गरी काम गर्न र  आफ्नो सेवालाई देशव्यापी बनाउन अस्पताललाई सुझाव दिए । 
पं.दीनबन्धु पोखरेलले राजनीतिमा सेवाको भावनालाई जोड्ने निधि गान्धीवादी नेता भएको उल्लेख गरे । उक्त भवन निर्माणका लागि लगाइएको महायज्ञमा पण्डित पोखरेलले भागवत् पाठ गरेका छन् । पूर्वमन्त्री शङ्करप्रसाद कोइराला, सांसद जिपछिरिङ लामा र  उमेश श्रेष्ठ, गणेशमानसिंह स्मृति अस्पतालका अध्यक्ष दीपकप्रकाश बाँस्कोटा, बिपी स्मृति अस्पतालका अध्यक्ष डा केदारनरसिंह केसी, महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहाललगायतले महेन्द्रनारायणका नाममा स्थापित अस्पतालले मधेश र पहाडलाई जोड्ने काम गरेको बताए । नाफाभन्दा सेवालाई ध्यान दिएर स्थापित उक्त अस्पताल १०० श्ययाको छ । आफ्नो सेवालाई आगामी दिनमा सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य राखिएको अस्पतालका अध्यक्ष कृष्णबहादुर थापा मगरले जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  ०५:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार