बेइजिङमा शीतकालीन ओलम्पिक खेल सुरु

शुक्रबार, माघ २१, २०७८

बेइजिङ, २१ माघ । बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोह सुरु भएको छ । खेलाडीहरूको परेड र ओलम्पिक दीप प्रज्ज्वलनलगायत कार्यक्रमलाई १५ खण्डमा विभाजन गरिएको छ ।  २४औँ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह पैचिङ राष्ट्रिय स्टुटियोमा आयोजना भएको हो ।  चीनका राष्ट्राध्यक्ष सी चिनफिङ, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमास बाच, संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत अन्तर्राष्ट्रिय सङ्गठनका जिम्मेवार व्यक्ति समारोहमा सरिक भए । समारोहमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलगायत ३० भन्दा बढी मुलुकका नेता पनि उपस्थित भएका छन् । 
मधुर बत्तीहरूको प्रकाशसँगै २४ सेकेण्ड गन्ती गरी भव्य सजावटसहितको उद्घाटन समारोह सुरू गरिएको हो । चिनियाँ जनताले समयको बुझाइलाई झल्काउँदै यो समारोहको अन्तिम सेकेण्डको गणना गर्न प्रयोग गरिएको हो । सन् २०२२ को शीतकालीन ओलम्पिकको उद्घाटन र चिनियाँ पर्व ‘स्प्रिङ फेस्टिबलको सुरुआत’ संयोगबस एकै दिन परेको छ । वर्षको २४ सौर्यकालमध्ये पहिलो अवधिलाई स्प्रिङ पर्वका रूपमा एक महिनासम्म मनाउने चिनियाँ चलन छ । शीतकालीन ओलम्पिक पनि यसै चिनियाँ फेस्टिबलको समय परेकोले चिनियाँहरूले यसलाई दोहोरो खुशीका रूपमा मनाउने बताएका छन् ।
चीनको राजधानी बेइजिङको बर्ड्स नेस्ट स्टेडियममा पाँचदेखि ७० वर्षभन्दा बढी उमेर समूहका नृत्यङ्गनाहरूले प्रदर्शन गरेका छन् ।
‘स्क्वायर डान्स’ साधारण चिनियाँ जनताको सिर्जना हो र यो समारोहमा निकै लोकप्रिय हुने मानिएको छ । ‘स्क्वायर डान्स’ ठूला वा साना सहरका सार्वजनिक चोकहरूमा मानिसहरू हर्षोल्लासका साथ गीत गाउन र नाच्न एकसाथ भेला हुने गर्छन् । कोरियोग्राफ गरिएको यस प्रदर्शनले ओलम्पिक शीतकालीन खेललाई स्वागत गर्दा चिनियाँ जनताको भावना प्रकट हुने भएकाले यसलाई पनि समारोहमा समावेश गरिएको हो ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  २१:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार