सर्वाेच्चको फैसला कार्यान्वयन गर्ने ओली पक्षीय नेकपाको निर्णय  

बुधबार, फागुन १२, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला बमोजिम प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएका छन् । ओली पक्षीय नेकपाको स्थायी कमिटी बैठकमा अदालतले दिएको समयसीमाभित्र संसद् अधिवेशन बोलाउने जानकारी प्रधानमन्त्रीले दिएका हुन् । बैठकपछि पत्रकारसँग कुरा गर्दै ओली पक्षीय नेकपाका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अदालतको फैसलाको सम्मान गर्दै त्यसलाई समयसीमा भित्र कार्यान्वयनमा लगिने बताए । ज्ञवालीले संसदीय दल र केन्द्रीय कमिटी बैठक पनि बोलाउनेबारे स्थायी कमिटीमा छलफल भएको जानकारी दिए । दलको नेता केपी ओली र उपनेता सुवास नेम्वाङले बोलाएको बैठक नै आधिकारिक हुने पनि उनको जिकिर छ । आजै दाहाल–नेपाल पक्षले पनि संसदीय दलको बैठक बोलाएको छ । ज्ञवालीले पार्टी एकताका लागि आफूहरु लचिलो भएकैले अहिलेसम्म दाहाललगायत कसैलाई पनि कारबाही नगरिएको बताए । ओली पक्षीय नेकपाको स्थायी कमिटी बैठक बिहीबार पनि जारी रहनेछ । बैठकले सर्वाेच्च अदालतको फैसलापछि देश अस्थिरतामा जाने र संसदीय व्यवस्थाका विगतका विकृति दोहोरिने चिन्ता व्यक्त गरेको छ । राजनीतिक निकासका लागि सबै पक्षसँग आफूहरु छलफलमा रहेको समेत ज्ञवालीले बताए ।

प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १५:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार