सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमाथि संवैधानिक इजलासमा भएका बहसका नोट सोमवार इजलासमा बुझाउने क्रम सुरु भएको छ । आज मंगलबार यो मुद्दा पेसीमा तोकिने अधिकारीहरूले बताएका छन् । यसअघि गत शुक्रवार एमिकस क्युरीको बहस टुङ्गिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले फागुन ११ गतेबाट मुद्दालाई हेर्दाहेर्दैमा राखिने बताएका थिए । बहस नोट प्राप्त भइसकेपछि बाँकी प्रक्रिया इजलासले नै तोक्ने गर्छ । बहस नोटहरू प्राप्त भएपछि त्यसको अध्ययन गर्ने र फैसलाका बारेमा छलफलको चरण प्रारम्भ हुन्छ । ‘छलफल त्यसै दिन निष्कर्षमा पुग्यो भने त्यसै दिन निर्णय हुनसक्छ । तर छलफल धेरै भयो, थप अध्ययन गर्नुप¥यो भने निर्णय सुनाउनका लागि इजलासले मिति तोक्न पनि सक्छ’ सर्वाेच्च अदालतका एक अधिकारीले जानकारी दिए । हेर्दाहेर्दैको अवस्थामा रहेको मुद्दाको कारबाहीलाई प्राथमिकता दिइने र उक्त मुद्दा नटुङ्गिएसम्म त्योभन्दा तल रहेका अन्य मुद्दा अहिलेको इजलासले हेर्दैन । पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनको सिफारिसविरुद्ध १३ वटा रिट निवेदन सर्वाेच्च अदालतको संवैधानिक इजलासमा प्रस्तुत भएका थिए । ती रिटमाथिको सुनुवाई गत शुक्रबार सकिएको थियो ।