सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १२ माघ । कोरोना प्रभावका कारण यस वर्षको शहीद सप्ताह कार्यक्रम औपचारिकरूपमा मात्र मनाइएको छ । महामारीको प्रभावले गर्दा यस वर्ष शहीद सप्ताहको दिन माघ १६ गते हुने प्रभातफेरी कार्यक्रम पनि नहुने कामपाले जनाएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यका अनुसार कोभिड–१९ महामारीको तेस्रो लहर नियन्त्रणका लागि यस वर्ष विगतका वर्षमा झैँ शहीद दिवस मनाउन पाइएन । विगतका वर्षमा माघ १६ गते शहीद दिवसको दिन बिहान ९ बजे रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरी कार्यक्रम आयोजना गरी लैनचौरको शहीद स्मारकमा पुगेर ज्ञातअज्ञात शहीदको सम्झनामा गर्ने गरिएको थियो । यस वर्ष प्रभातफेरी कार्यक्रम गरिने छैन । लैनचौरको शहीद स्मारकमा सङ्क्षिप्त स्मृति कार्यक्रम मात्र गरिनेछ जहाँ प्रधानमन्त्रीसहित केही उच्चपदस्थ अधिकारी मात्र उपस्थित रहने कार्यक्रम रहेको प्रमुख शाक्यले जानकारी दिए । शहीद सप्ताहको पहिलो दिन यही माघ १० गते सीमित व्यक्तिको सहभागितामा शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । काठमाडौँको टेकु पचलीस्थित शहीद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गरेका छन् । यस वर्षका शहीद सप्ताहका अन्य कार्यक्रम यही माघ १३ गते सिफलमा शहीद धर्मभक्त माथेमाको शालिकमा र १५ गते शोभा भगवतीमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा सीमित पदाधिकारी उपस्थित भएर शालिकमा पुष्पगुच्छा अर्पण गरी मनाउने कार्यक्रम रहेको छ । महानगरले प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका चार शहीदको पूर्णकदको शालिक उहाँहरुले सहादत प्राप्त गरेकै स्थानमा निर्माण गरिसकेको छ ।