गाउँका सुन्तला बिक्रीबाट शहरमा घडेरी

बुधबार, माघ १२, २०७८

पर्वत, १२ माघ । यहाँको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले यस वर्ष करिब रु पाँच करोडका सुन्तला बिक्री गरेका छन् । 
अनुकूल मौसमका कारण किसानले यस वर्ष सुन्तला बिक्रीबाट राम्रो आम्दानी लिन पाएका हुन् । व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका दुई सयभन्दा बढी परिवारले सुन्तला बिक्रीबाट गाउँ
मा रु पाँच करोड भित्र्याएको स्थानीय बजार मारे सुन्तला उत्पादन सहकारी संस्था बाँसखर्कका अध्यक्ष जगतबहादुर खत्रीले जानकारी दिए । उक्त गाउँमा गत वर्ष रु तीन करोड भित्रिएको थियो । 
“बोटबाटै प्रतिकिलो १३० देखि १५० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छौँ,” उनले भने, “पोखरा, मुग्लिन र नारायणगढ लगायतका बजारबाट व्यववसायी आएर सुन्तला खरिद गरे ।  माग पूरा गर्नै सकिएको छैन । ढिलो गरी पाक्ने र स्वादिलो हुने भएकाले यहाँको सुन्तलाको माग बढी हुने गरेको छ । ” 
बाँसखर्कमा अन्य खाद्यान्न र फलफूल उत्पादन हुँदैन । किसानले धान, कोदो र मकैभन्दा सुन्तला खेतीले फाइदा हुने भएपछि सुन्तलालाई मुख्य आम्दानीका रूपमा लिँदै आएका छन् । न्यूनतम रु पाँच लाखभन्दा थोरै कमाउने कुनै घरै छैनन्,” अध्यक्ष खत्रीले भने, “बढीमा रु १९ लाखसम्म आम्दानी गर्ने परिवारसमेत रहेका छन् । ”
उनले यस वर्ष झन्डै रु १३ लाख आम्दानी गरेको सुनाउनुभयो । उहाँका अनुसार गाउँमा सबैभन्दा बढी  भक्तबहादुर पाइजाले सुन्तला बिक्री गरेका छन् । उनले यस वर्ष झन्डै रु १६ लाख आम्दानी हुने बताउनुभयो । सुन्तलाको कमाईले बजारमा घरघडेरी नजोडेका निकै कम छन् । उनका अनुसार घरको आँगनसमेत सुन्तलाका बोटले ढाकिएको छ ।
सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा विगत तीन वर्षअघि ६७ लाख खर्चिएर शीतभण्डार केन्द्र सञ्चालन गरिएको छ । शीतभण्डार सञ्चालन भएपछि किसानलाई सुन्तला भण्डारण गर्न र बेसिजनमा बिक्री गर्न सहज भएको स्थानीयवासी कल्पना खत्रीले बताए । तर अधिकांश सुन्तला बोटबाटै बिक्री हुने भएकाले भण्डारण गर्नुपर्ने समस्या नभएको उनको भनाइ छ । सुन्तलाका लागि उपयुक्त क्षेत्र भएकाले बाँसखर्कमा बर्सेनि क्षेत्रफल विस्तार हुँदै आएको छ । विगत चार वर्ष अघिसम्म १६१ परिवारले मात्रै व्यावसायिक सुन्तला खेती गर्दै आएको यो गाउँमा अहिले २१० परिवार आबद्ध भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । 
यहाँका अधिकांश कृषक अन्नबाली छाडेर सुन्तला खेतीमा लागेका छन् । यहाँ कोदो र मकै उत्पादन हुने गर्दथ्यो । अहिले भने खेतबारी सबै सुन्तलाको बगानले ढाकिएको छ । सिङ्गो गाउँ नै पहेँलपुर बनेको छ । माघ पहिलो सातादेखि यहाँका सुन्तला बजार जान थालेका हुन् । अधिकांश सुन्तला बजार झरिसकेको र बाँकी रहेका बगँैचामा पनि व्यवसायीहरू आफैँ गएर टिप्न थालेको स्थानीयवासी यामबहादुर गर्बुजाले बताए ।

स्याङ्जाको एउटै गाउँबाट एक करोड बढीको सुन्तला बिक्री

यहाँको एउटै गाउँबाट यसपटक एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसा गाउँका किसानले यसपटक सुन्तला बिक्रीबाट एक करोड २५ लाखभन्दा बढी आम्दानी गाउँमा भित्र्याएका हुन् । 
सिरौंसाको नवदुर्गा फलफूल तथा कृषि समूहमा आबद्ध किसानहरूको मुख्य आम्दानीको स्रोत नै सुन्तला खेती भएको समूहका संयोजक भूपराज भण्डारीले बताए । सिरौंसा गाउँमा सुन्तला खेती गर्ने किसानहरू दुईवटा समूहमा आबद्ध रहेका छन् । दुईवटा समूहमा गरेर ६२ घरधुरी समावेश छन् ।
“गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा कमी भयो,” संयोजक भण्डारीले भने, “गत वर्ष गाउँमा सुन्तला बिक्रीबाट डेढ करोडभन्दा बढी रकम भित्रिएको थियो ।”
समूहमा आबद्ध प्रत्येक घरधुरीले सुन्तला बिक्रीबाट न्यूनतम एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । गाउँमा सबैभन्दा पहिलेदेखि व्यावसायिकरूपमा सुन्तला खेती गर्दै आउनुभएका संयोजक भण्डारीले मात्रै यो वर्ष सुन्तला बिक्रीबाट रु १७ लाख आम्दानी गर्नुभएको छ । “गाउँमा सुन्तला बिक्रीबाट न्यूनतम एक लाख कमाउने धेरै हुनुहुन्छ,” उनले भने, “६÷७ जनाले रु चार लाखदेखि रु १७ लाखसम्म सुन्तला बिक्रीबाट आम्दानी गर्नुहुन्छ ।”
भण्डारीले मात्रै गत वर्ष सुन्तला बिक्रीबाट रु २२ लाख आम्दानी गर्नुभएको थियो । यस वर्ष सुन्तला उत्पादनमा कमी भएका कारण आम्दानी घटेको उनले बताए । यहाँ उत्पादन भएको सुन्तला अहिले बोटबाट बिक्री भएको हो । यहाँको सुन्तला मुख्यगरी काठमाडौँ र नारायणगढ बजारमा खपत भएको हो । “स्थानीय बजारमा पनि केही मात्रामा सुन्तला खपत भएको छ तर बाहिरी बजारमा बिक्री गरेको सुन्तलालाई मात्रै आम्दानीका रूपमा राखेका छौँ”, उनले भने, “यसपटक बजार मूल्य राम्रो पाएकाले पनि आम्दानी राम्रो भएको हो ।”
यहाँका अर्का व्यावसायिक किसान देवीप्रसाद भण्डारीले यस वर्ष सुन्तला बिक्रीबाट रु नौ लाख आम्दानी गरेका छन् । उनीहरूजस्तै व्यावसायिक किसानहरूले सुन्तलाबाट मनग्य आम्दानी लिन थालेसँगै यहाँ सुन्तला खेतीलाई व्यावसायिकरूपमा अगाडि बढाउन किसानहरू आकर्षित भएका छन् ।
सुन्तलाका नयाँ बोट लगाउने र बगैँचा विस्तार गर्ने बढ्दो क्रममा रहेकाले आगामी वर्षमा उत्पादन बढ्न गई आम्दानीमा पनि वृद्धि हुने विश्वास समूहका संयोजक भूपराज भण्डारीको छ । यस वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनको क्षेत्रभित्र यो ठाउँलाई पनि समेटिएको छ । गल्याङ– ७ मा करिब १७ हजार हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा रहेको छ ।–रासस
 

 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १७:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार