स‌‌सद् पुनःस्थापना भए तमासाको राजनीति शुरु हुन्छ : प्रधानमन्त्री

अदालतलाई धम्की नदिएको स्पष्ट
सोमबार, फागुन १०, २०७७

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना भएमा सत्ता समीकरणको खेल, भागवण्डा र तमासाको राजनीति शुरु हुने बताएका छन् ।  बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले मुलुक निर्वाचनमा गएपछि केही व्यक्तिमा राजनीति सिद्धिने छटपटी भएकाले पुनस्र्थापनाको कुरा गरेको जिकिर गरे । ‘देश बनाउन लोकतान्त्रिक आन्दोलन चलिरहन्छ’ उनले भने, ‘समग्र राष्ट्र परिवर्तनको आन्दोलन भएकाले सफलताका साथ अगाडि बढ्छ ।’ आफूले अदालतलाई धम्की नदिएको स्पष्ट गर्दै उनले न्यायालय र शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास रहेको उल्लेख गरे । अहिलेको आवश्यकता शिक्षा, स्वास्थ्य, आवास भएको उल्लेख गर्दै उनले शहरका बालबालिकाले झै गाउँका बालबालिकाले गाउँमै कम्प्युटर र इन्टरनेटको प्रयोग गरेर शिक्षा आर्जन गर्ने बताए ।  पश्चिम सेती राष्ट्रकै गौरवको योजना भएकाले पर्याप्त विद्युत् उत्पादन गरी सुदूरपश्चिमको उद्योगमा विद्युत् आपूर्तिमा सहज हुने उनले जनाए ।  उनले भागरथी भट्ट हत्याकाण्डमा केही तत्वले राजनीति गर्न खोजे पनि सफल नभएको टिप्पणी गरे । उनले भने, ‘अपराधीलाई प्रहरीले अनुसन्धानपछि पक्राउ गरेको छ ।  म कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई पनि अनुसन्धान गरी सार्वजनिक गर्न प्रशासनलाई निर्देशन दिन्छु ।’ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले लडाकू व्यवस्थापनका क्रममा क्यान्टोनमेन्टमा ठूलो भ्रष्टाचार गरिएको उल्लेख गर्दै तत्कालीन पार्टीमा अमिक शेरचनको नेतृत्वमा बुझाइएको प्रतिवेदन दबाइएको बताए । लडाकूका बीचमा त्यो प्रतिवेदन नजाओस् भनेर च्यातिएको उनले जानकारी दिए ।  वन तथा वातावरणमन्त्री प्रेम आलेले महाकाली करिडोरको कार्य अगाडि बढाउन सरकारले ९३ करोड रुपैयाँ विनियोजन गरेको बताए ।  वनका कारण अड्किएको करिडोरको कार्य पूरा गर्नका लागि मन्त्रिपरिषद्को बैठकमा लगेर निर्णय गरी समाधान गरिने उनले जानकारी गराए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितको वर्षाैंदेखिको समस्या समाधान गर्नका लागि शक्तिशाली आयोग गठन गरिने उनले बताए ।  श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरीले विकासको ढोका पश्मिबाट खुलेको चर्चा गर्दै औद्योगिक क्षेत्र स्थापनापछि यसले आर्थिक समृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।  संघीय मामिला तथा सामान्य विकासमन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान सरकार आउनुअघिसम्म गर्व गर्न लायकको कुनै योजना नरहेको उल्लेख गर्दै आज गेटा मेडिकल कलेज, धनगढी विमानस्थललगायतका योजना अगाडि बढेका जनाए ।  उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले वर्तमान सरकारले ३९६ अस्पताल एकै साथ शिलान्यास गरेर किर्तिमान कायम गरेको बताइन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको कार्य पाँच वर्षभित्रै पूरा हुने जानकारी दिए । उद्योग स्थापना भएपछि ५० हजार मान्छेलाई प्रत्यक्ष रुपमा रोजगारी दिइने उनको भनाइ छ । पहिलो चरणमा ४०० बिघा जग्गामा १०० उद्योग स्थापनाको बाटो खुलाइएको छ । अबको एक महिनाभित्र उद्योगका लागि आवेदन माग गरिने र छ महिनाभित्र जग्गा उपलब्ध गराइने योजना छ ।    उक्त क्षेत्रमा पर्ने चार हजार रुख कटानको प्रक्रिया पनि अगाडि बढाइने सरकारी अधिकारीको भनाइ ।–रासस
 

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  २१:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार