सोसल मिडिया
Contact Us
युनिकोड
पेरिस, १२ माघ । फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना सङ्क्रमित भेटिएका यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । फ्रान्समा पछिल्ला केही दिन यता युरोपका अन्य देशमध्ये सबैभन्दा बढी सङ्क्रमित फेला परेका हुन् । फ्रान्समा पछिल्लो २४ घन्टामा पाँच लाखभन्दा बढीमा संक्रमण देखिएको बताइएको हो । फ्रान्सका सरकारी अधिकारीले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा पाँच लाख एक हजार ७७९ मा सङ्क्रमण देखिएको हो । फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दैनिक बढिरहेको अधिकरीको भनाइ छ । यहाँका स्वास्थ्य मन्त्रीले अहिले आइसियुमा भर्ना हुने सङ्क्रमितको संख्या भने घटेको बताएका छन् । पछिल्ला समयमा यहाँ अस्पताल भर्ना हुने बिरामी पनि घटेका पाइएको हो । यहाँका अस्पतालका अघिल्लो हप्तासम्म करिब चार हजार सङ्क्रमित भर्ना भएकामा अहिले त्यसमा आधभन्दा बढी कमी आएको छ । गएको २४ घन्टामा मृत्यु भने ३६४ पुगेको पनि बताइएको छ । फ्रान्समा अहिलेसम्म कोभिडबाट एक लाखभन्दा बढीको मृत्यु भएको बताइएको छ । फ्रान्सबाहेक अन्य युरोपेली मुलुक बेलायत, इटाली, ग्रीस, पोर्चुगललगायतमा पनि अहिलेसम्मकै उच्च सङ्ख्यामा संक्रमित भेटिएका छन् । युरोपमा खासगरी क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघट बढेकाले कोरोना तीव्ररूपमा फैलिएको बताइएको छ ।– रासस/सिन्ह्वा