स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह

मंगलबार, माघ ११, २०७८

काठमाडौँ, ११ माघ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । वर्तमान संवैधानिक एवं कानूनी व्यवस्थाका आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम विलम्ब हुँदै गए निर्वाचन व्यवस्थापनको कार्य व्यावहारिक एवं प्राविधिक कारणले जटिल बन्दै जाने बताउँदै आफ्नो परामर्शमा यथाशीघ्र निर्वाचनको मिति तोक्न आयोगले आग्रह गरेको हो ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम मिति तोक्न सरकारसँग आयोगले आग्रह गरेको आयोगद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । राजनीतिक दलले नै स्थानीय तहको निर्वाचन समयमा नै गर्नुपर्नेतर्फ जोड दिँदै आयोग पूर्ण तयारी अवस्थामा रहनुपर्ने र सरकारसँग समयमा नै निर्वाचन गर्न सम्पर्कमा रही मिति तोक्न सिफारिस गर्नेलगायतका विविध सुझाव प्राप्त भएको विषय स्मरण गराएको छ ।
आयोगका पदाधिकारी र १६ राजनीतिक दलका प्रतिनिधिबीच गत पुस ३० गते स्थानीय तहको आगामी निर्वाचनका सन्दर्भमा गरिएका पूर्व तयारीका कार्य र स्थानीय तहको निर्वाचनको मिति तय गर्न नेपाल सरकारसमक्ष परामर्श दिने सम्बन्धमा बैठकमा उक्त सुझाव दिइएको थियो ।
स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानूनतः आयोगलाई सामान्यतया १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भएकाले  निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन, मतदानस्थलको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक अन्य पूर्व तयारीका कार्य निरन्तर गरिरहेको जानकारी दिएको छ । आयोगले प्रस्ताव गरेअनुसार निर्वाचनको मिति तोकिएमा २०७९ साल वैशाख मसान्तभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ ।  
स्थानीय तहको निर्वाचन २०७४ साल वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरणमा सम्पन्न भएकामा पहिलो चरणलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाबमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल आगामी २०७९ साल जेठ ५ मा समाप्त हुने आयोगले स्पष्ट गरेको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्थाबमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै स्थानीय तहको निर्वाचन गर्न आयोग पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पहिलोपटक गत कात्तिक ८ गते भेटी स्थानीय तहको आगामी निर्वाचनका सम्बन्धमा भएका संवैधानिक तथा कानूनी व्यवस्थाबारेमा जानकारी गराएको थियो ।
दोस्रोपटक पुस ९ गते पुनः भेटी स्थानीय तहका निर्वाचित पदाधिकारीको पदावधिसम्बन्धी व्यवस्थाका बारेमा जानकारी गराई आगामी वैशाख १४ गते बुधबारका दिन एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
आयोगले यदि कुनै कारणबाट एकै चरणमा निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण वैशाख १४ गते बुधबार र दोस्रो चरण वैशाख २२ गते बिहीबार गर्ने गरी दुई चरणमा निर्वाचन गर्न उपयुक्त हुने भनी प्रस्तावसमेत गरेको थियो ।

विज्ञप्ति

स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोश्रो चरण र असोज २ गते तेश्रो चरणमा सम्पन्न भएकोेमा पहिलो चरण २०७४ वैशाख ३१ गतेलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल आगामी २०७९ जेठ ५ मा समाप्त हुने भएकोले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्था बमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै स्थानीय तहको निर्वाचन गर्न आयोगका पदाधिकारीहरुद्वारा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूलाई पहिलो पटक मिति २०७८ कार्तिक ८ गते भेटी स्थानीय तहको आगामी निर्वाचनका सम्वन्धमा भएका संवैधानिक तथा कानूनी ब्यवस्था वारेमा जानकारी गराइएको र दोश्रो पटक मिति २०७८ पौष ९ गते भेटी स्थानीय तहका निर्वाचित पदाधिकारीहरुको पदावधि सम्वन्धी व्यवस्थाको वारेमा जानकारी गराई मिति २०७९ वैशाख १४ गते बुधबारका दिन एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरिएको र यदि कुनै कारणबाट एकै चरणमा निर्वाचन गर्न संभव नभएमा पहिलो चरण मिति २०७९ वैशाख १४ गते बुधबार र दोश्रो चरण २०७९ वैशाख २२ गते विहिबार गर्ने गरी दुई चरणमा निर्वाचन गर्न उपयुक्त हुने भनी प्रस्ताव गरिएको व्यहोरा विदितै छ । 

यसै सिलसिलामा मिति २०७८ पौष ३० गते निर्वाचन आयोगका पदाधिकारी र १६ राजनीतिक दलका सभापति वा अध्यक्ष तथा आधिकारिक प्रतिनिधिहरुका बीच स्थानीय तहको आगामी निर्वाचनको सन्दर्भमा गरिएका पूर्व तयारीका कार्यहरु र स्थानीय तहको निर्वाचनको मिति तय गर्न नेपाल सरकार समक्ष परामर्श दिने सम्वन्धमा गरिएको वैठकमा राजनीतिक दलहरुले स्थानीय तहको निर्वाचन समयमा नै गर्नुपर्ने तर्फ जोड दिदै स्थानीय तहको निर्वाचनका सम्वन्धमा आयोग पूर्ण तयारी अवस्थामा रहनु पर्ने र सरकारसँग समयमा नै निर्वाचन गर्न सम्र्पकमा रही सरकारलाई मिति तोक्न सिफारिश गर्ने लगायतका विविध सुझावहरु प्राप्त भएका थिए ।

तदानुसार स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानूनतः आयोगलाई सामान्यतया १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भएकोले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक अन्य पूर्व तयारीका कार्यहरु निरन्तर गरिरहेको हुँदा आयोगले प्रस्ताव गरे अनुसार निर्वाचनको मिति तोकिएमा २०७९ वैशाख मसान्त भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको छ । 

यसर्थ, वर्तमान संवैधानिक एवम् कानूनी ब्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति विलम्व हुँदै जान्छ, त्यति नै निर्वाचन ब्यवस्थापनको कार्य व्यवहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जान्छ भन्ने तथ्यलाई दृष्टिगत गरी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकार समक्ष निर्वाचन आयोग आग्रह गर्दछ । 

शालिग्राम शर्मा पौडेल
सहसचिव एवं प्रवक्ता

Avatar

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार