संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानलाई तीन करोड २० लाख अमेरिकी डलर नगद सहायता प्रदान गर्ने 

शुक्रबार, माघ ७, २०७८

काबुल (अफगानिस्तान), ७ माघ । संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानलाई बिहीबार तीन करोड २० लाख अमेरिकी डलर मानवीय सहायता प्रदान गरेको छ । सहायता रकम अफगानिस्तान इन्टरनेशनल बैंक (एआईबी) मार्फत तालिबान सरकारलाई दिइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।   अफगानिस्तानको केन्द्रीय बैंक, डा अफगानिस्तान बैंकले अफगानिस्तानलाई संयुक्त राष्ट्रसङ्घीय सहायता आइरहेको र उनीहरूले तीन करोड २० लाख अमेरिकी डलर नगद प्राप्त गरेको यहाँको समाचार संस्था खामा प्रेसले अधिकारीहरूलाई उद्धृत गरी उल्लेख गरेको छ ।  तालिबान सरकारले सहयोगहरूको खाँचो देखिएमा मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने सबै मानवीय सहयोग स्वीकार गर्ने बताएको छ । उक्त सहायता रकम संयुक्त राष्ट्रसङ्घले सन् २०२२ मार्चसम्म साप्ताहिक रूपमा अफगानिस्तानलाई उपलब्ध गराउने भनेको तीन करोड अमेरिकी डलर सहयोग कार्यक्रमको एक भाग हो । तालिबानले अगस्ट १५ मा काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि अफगानिस्तानमा आर्थिक, मानवीय र सुरक्षा सङ्कट गहिरो बन्दै गएको छ ।  तालिबान समूहले अफगानिस्तानको सत्ता आफ्नो नियन्त्रणमा लिएसँगै अमेरिका तथा युरोपेली मुलुकहरूले विदेशमा रहेको अफगानिस्तानी सम्पत्ति रोकेपछि वैदेशिक सहायतामा आश्रित अफगानी अर्थतन्त्र सङ्कटग्रस्त बनेको बताइँदै आएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा विभिन्न अन्तर्राष्ट्रिय समुदायले अफगान जनतालाई सङ्कटमा विभिन्न सहयोग गर्दै आएका छन् ।– रासस/एएनआई 
 

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  २२:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार