स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

शुक्रबार, माघ ७, २०७८

महेन्द्रनगर, ७ माघ । कोरोना सङ्क्रमणको दोस्रोे लहरका बेला अङ्ग्रपङ्क्तिमा प्रत्यक्षरुपमा खटिएका कञ्चनपुरका स्वास्थ्यकर्मीले लामो समय बितिसक्दा पनि जोखिम भत्ता पाएका छैनन् ।
तेस्रो चरणको ओमिक्रोन भेरिएन्टको सङ्क्रमण बढिरहेका बेला स्वास्थ्यकर्मीहरुले सरकारले उपलब्ध गराउने जोखिम भत्ता पाउने विषयमा अझै अन्यौल रहेको बताएका हुन् । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा कार्यरत अहेव गोपालदत्त पन्तले कोरोनाको दोस्रो लहरका बेला दुई महिनाको मात्रै जोखिम भत्ता पाएको बताए ।
“पहिलो लहरमा सरकारले चार महिनाको सतप्रतिशत भत्ता स्वास्थ्यकर्मीलाई दिएको थियो ।” उहाँले भन्नुभयो, “दोस्रो लहरमा अझै दुई महिनाको भत्ता पाइएको छैन ।” यहाँका पालिकास्तरका  स्वास्थ्यकर्मीले भने पहिलो लहरका बेलाको मात्रै जोखिम भत्ता पाएको बताएका छन् । 
स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्र्पक व्यक्ति सिद्धराज भट्टले स्वास्थ्यकर्मीले सरकारले निर्धारण गरेको जोखिम भत्ता नपाएको बताउनुभयो । “यहाँ पालिकापिच्छे केहीले केही महिनाको पाए पनि सबैले भत्ता पाउन सकेका छैनन् ।” उहाँले भने, “नदिने भनेको छैन, दिन ढिलाइ भएकै हो ।” गत असारमा सरकारले स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो । 
 
बागलुङका पाँच नाकामा स्वास्थ्य सहायता कक्ष

कोरोनाको तेस्रो लहरको सङ्क्रमण तीव्ररुपमा फैलिएको बागलुङमा स्वास्थ्य सुरक्षा अपनाउन थालिएको छ । कोरोनाका कारण घर फर्कनेको विवरण तयार गर्ने र स्वास्थ्य परीक्षण गर्नका लागि जिल्ला प्रवेश गर्ने पाँच नाकामा स्वास्थ्य सहायता कक्ष राखिएको छ ।  
कोरोनाको पहिलो र दोस्रो लहरमा समेत स्थापना गरेको स्वास्थ्य सहायता कक्षलाई पुनः सक्रिय पारिएको हो । जिल्लाको सीमा नाकामा कडाइ गरिएको छ । अन्तरजिल्ला आवतजावत खुल्ला भएको, छिमेकी मित्रराष्ट्र भारत तथा तेस्रो मुलुकबाट र देशका मुख्य सहरबाट जिल्लाभित्र प्रवेश गर्ने व्यक्तिको सङ्ख्यामा वृद्धि भएको अवस्थामा नाकामा स्वास्थ्य सहायता कक्ष स्थापनाका साथै कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी रेशम ढकालले जानकारी दिए । 
बागलुङ नगरपालिका–१ मालढुङ्गा, बडिगाडको खर्बाङ, जैमिनीको छिस्ती, बरेङ र निसीको भलकोट नाकामा स्थानीय तहको समन्वयमा स्वास्थ्य परीक्षण र विवरण सङ्कलन गर्न लागिएको छ । जिल्लामा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २५० पुगेको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए । पछिल्ला पाँच दिनमा सङ्क्रमितको सङ्ख्या १४ बाट बढेर २५० पुगेको छ । ‘अहिले तपाईको मास्क खोई ?’ अभियानलगायत चेतनामूलक कार्यक्रम गर्न थालिएको छ ।–रासस
 

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार