भोटिया खोलामा पुल निर्माण हुने 

शुक्रबार, माघ ७, २०७८

विराटनगर, ७ माघ । सुनसरीको इटहरी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रमा पर्ने वडा नं १५ स्थित भोटिया खोलामा पुल निर्माण हुने भएको छ ।  चार करोड १६ लाख ४१ हजार रुपैयाँको लागतमा दुई वर्षमा सो पुल निमार्ण भइसक्ने सम्झौता भएको उपमहानगरपालिकाले जनाएको छ । इटहरी र इनरुवा जोड्ने सो पुल निर्माणपछि स्थानीयवासी अत्यन्तै लाभान्वित हुने बताइएको छ । खेतीपाती गर्न र कृषिउपज बजारसम्म पु¥याउनका लागि स्थानीयवासीलाई पुल अति नै आवश्यक भएकाले उपमहानगरपालिकाले पुल निर्माण गर्न लागेको हो ।
सो पुलको आज शिलान्यास गर्दै इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीले नगरको स्रोतले भ्याएसम्म जनताको सेवामा समर्पित रहने बताए । उनले अहिलेसम्ममा सानाठूला गरी १९ वट पुल नगर क्षेत्रमा बनाइसकेको जानकारी दिँदै जनप्रतिनिधिको काम नै जनताको सेवा हो भने । 
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य सुवेदीले निर्धारित समयमै गुणस्तरीय काम हुनुपर्नेमा जोड दिए । 
वडा नं १५ का कार्यवाहक वडाध्यक्ष सुबोधनारायण चौधरी र वडासदस्य अशोक चौधरीले स्थानीयवासीको एउटा ठूलो समस्या समाधान हुन लाग्दा खुसी व्यक्त गरे ।

रसुवाको जिबजिबेमा झोलुङ्गे पुल जोखिममा
             
प्राकृतिक प्रकोपका कारण दक्षिणी रसुवाको एक झोलुङ्गे पुल जोखिममा परेको छ । कालिका गाउँपालिका वडा नं २ अन्तर्गत घुम्ती बजार–जिबजिबे सडकको डिल भासिएपछि धोबीखोलाको पुल खतरामा परेको हो । दुई दशक अगाडिदेखिको पहिरोग्रस्त सो क्षेत्रमा वर्षायाममा पहिरो जाने समस्याले  कालिका क्याम्पसका विद्यार्थी एवं जिबजिबे, ज्याङलाङ, सरसिउँ, घोर्मुलगायत गाउँका बासिन्दालाई आवतजावतमा कठिन पर्दै आएको छ ।   एक सय १७ मिटर लामो झोलुङ्गे पुलको एकातर्फ भागमा जिबजिबे सडकको डिल भासिएपछि  संरक्षणमा स्थानीय बासिन्दाले विशेष चासो दिएका छन् ।  कुनामा लगाइएको यान्त्रिक टेवा पर्खालसमेत लडेका कारण ‘झोलुङ्गेपुल बचाऔँ अभियान’मा जुट्न उपभोक्तालगायत सम्बद्ध सबै पक्षसँंग आग्रह गरिएको नेकपा(माओवादी केन्द्र)का नेता नारायणप्रसाद देवकोटाले बताए ।  वर्षायाममा निरन्तर पहिरो गइरहनाले पार गर्न स्थानीय बासिन्दालाई प्रत्येक वर्ष तीन महिना सकस हुनाले दुई वर्ष अगाडि  गाउँपालिकाले  झोलुङ्गे पुल निर्माण गरेको थियो । लठ्ठा कसिएको स्थान दह्रो भए पनि  माथिको पाखो बग्न थालेका कारण पुल पूर्ण जोखिमावस्थामा छ । वर्षायाममा जिबजिबेदेखि यार्सा गाउँ क्षेत्रका १० हजारभन्दा बढी बासिन्दाले सो पुलबाट आवतजावत गर्छन् ।  पुल संरक्षणमा सहभागी भइदिनदिन स्थानीय तह, सामाजिक सङ्घसंस्था एवं सरोकार निकायसमेतमा आग्रह गरिएको स्थानीय समाजसेवी देवकोटाले बताए । छिटो उपचार गराउनुपर्ने बिरामी वर्षायाममा  काठमाडौँ लान समेत समस्या हुँदै आएको बताइएको छ । हिउँदमा मोटर गुड्ने र वर्षायाम सुरू हुनासाथ पैदलमार्गीसमेत हिँड्न नसक्ने अवस्थाले बढीमात्रामा जिबजिबेबासी ठूलो मर्कामा परिरहेको स्थानीयवासी चिरञ्जीवी पौडेलले बताए ।–रासस

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १७:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार