सोसल मिडिया
Contact Us
युनिकोड
मङ्गलबारे, ७ माघ । जिल्लाको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायतका स्थानमा पुनःहिमपात भएको छ । यसअघि पनि दुईपटक यी ठाउँमा हिमपात भएको थियो । यसपटक भने यसभन्दा तल माइमझुवा, टप्पु, राँके, साँधुटारलगायत धेरै तलसम्म हिमपात भएको छ । यस्तै राति जिल्लाका अधिकांश स्थानमा पानीसमेत परेको छ । उच्च पहाडी क्षेत्रमा मात्र हिमपात र झरी परेपछि सदरमकाम इलामसहित जिल्लाका अन्य स्थानमा जाडो बढेको छ । यसबाट बालबालिका र वृद्धवृद्धालाई समस्या भएको छ । सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी, कालपोखरी, गैरीबास इलाम नगरपालिकाको पाटेनागी लगायतका स्थानमासमेत वर्षासहित हिमपात भएको छ । हिमपातका जिल्लाका उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिउँ परेपछि चिसो बढेको छ । हिउँ परेको स्थानका स्थानीयलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । उनीहरुलाई दैनिक कामकाज गर्न समस्या भएको स्थानीयवासी दिनेश ढकालको भनाइ छ । उनका अनुसार वर्षासहितको चिसोले घर बाहिरको काम गर्नसमेत समस्या भएको छ । तर जाडो बढे पनि पटकपटकको हिमपात र वर्षाले किसानलाई भने राहत मिलेको छ । यस सिजनमा वर्षा हुँदा उब्जनी बढ्ने किसानको भनाइ छ ।
पाथीभरा क्षेत्रमा हिमपात ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको हो । हिमपातले बाटो छोपिएपछि तीर्थयात्रीलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । उनले भने, “चार जना तीर्थ यात्रीसँगै लिएर जाँदैछु । हिमपात हुन रोकिएको छैन । हिउँले बाटो पूरै छोपिएको छ । बाटो अनुमान गर्दै जानु पर्नेछ ।” पाथीभरामा जानुभन्दा पनि फर्किन समस्या हुने गरेको उनले बताए । मन्दिर पुगेर फर्किने समयमा बाटो ओरालो पर्दछ ओरालो बाटोमा हिउँमा चिप्लिने समस्या हुने गरेको उनले बताए । पाथीभरा क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात हुन सुरु भएको हो । बिहीबार ६० तीर्थयात्रीले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको क्षेत्र विकास समितिले जनाएको छ । समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७ याङमा तीन हजार ४०० मिटर उचाइ क्षेत्रका बस्तीमा बिहीबारदेखि हिमपात हुन थालेको छ । हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र ज्येष्ठ नागरिक प्रभावित भएको घुन्साका स्थानीय केल्साङ शेर्पाले बताए । हिमपातले जनजीवन प्रभावित हुनुका साथै पशुचौपायसमेत प्रभावित हुने घुन्साका स्थानीय टासी तेन्जीले शेर्पाले जानकारी दिए । हिमाली क्षेत्रका प्रमुख पुख्र्यौली पेसाका रुपमा पशुपालन गर्दै आएको छ । तर हिमपातको समय पशु जोगाउने मुस्किल पर्ने शेर्पाले बताए । सबैभन्दा याक चौँरीको बाछाबाछीलाई हिमपातको समयमा जोगाउने समस्या हुने उनले बताए । यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित ओलाङ्चुगोला, भले र ग्याप्ला बस्तीमा पनि निकै बाक्लो हिमपात भएको छ । मिक्वाखोला गाउँपालिका–६ तोक्पेगोला र पापुङ बस्तीमा समेत हिमपात भएको मिक्वाखोला गाउँपालिका–६ का वडाध्यक्ष डन्डु शेर्पाले बताए । हिमपात भएसँगै सदरमुकाम फुङ्लिङ बजारमा चिसो बढेको छ । अध्यधिक जाडोेले जनजीवन प्रभावितन भएको छ । जिल्लामा पहिलो पटक गतपुस १३ र १४ गते हिमपात भएको थियो । दोस्रो पटक पुस २९मा हिमापात भएको थियो ।–रासस