सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ । चीनले आठ महिनापछि गत जुनमा गलवान उपत्यकामा भारतीय सैनिकसँगको संघर्षमा आफ्ना पनि सैनिक मारिएको शुक्रबार स्वीकार गरेको छ । चीनको जनमुक्ति सेनाले उसका कुल चार सैनिक मारिएको पुष्टि गरेको हो । संघर्षमा २० जना भारतीय सैनिक मारिएको भारतले त्यतिखेरै जनाएको थियो । तर चीनले भने मुख खोलेको थिएन । तर शुक्रवार अचानक चीनले २१ जुन २०२० मा भारत र चीनका सैनिकहरूबीच भएको हिंसक झडपको भिडिओ फुटेज पनि सार्वजनिक गरेको छ ।
किन ढिलो स्वीकार ? आठ महिनादेखि यो विषयमा चुप रहेको चीनले यो साता जब दुवै देशका सैनिक विवादित इलाकाहरूबाट पछाडि हट्न थालेका छन् तब मुख किन खोलेको होला भन्ने प्रश्न धेरैको मनमा उब्जिएको छ । शुक्रबारको नियमित प्रेस सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता ह्वा चुनयीङ्ले यसबारे प्रस्ट पार्ने प्रयास गरिन् । ‘गलवान उपत्यकामा गत जुनमा भएको संघर्षमा दुवैतर्फ हताहती भयो । सम्पूर्ण जिम्मेदारी भारतीय पक्षको रहेको छ । दुई देश तथा दुई सेनाबीचको समग्र सम्बन्धलाई ध्यानमा राखेर चीनले उच्चस्तरको संयम अपनायो ताकि स्थिति सेलाओस र सहज होस्–जसले मुख्य देश भएको आधारमा चीनले देखाएको उदारता र उच्च जिम्मेवारी बोध झल्काउँछ’ चुनयीङ्ले भनिन्। उनले भारतीय पक्षले बारम्बार यो विषयलाई सनसनीपूर्ढ बनाउने प्रयास गरेको अनि तथ्य बङ्ग्याएर अन्तर्राष्ट्रिय जनमतलाई गलत दिशा दिन खोजेको आरोप पनि लगाएकी छन् ।
४५ वर्ष यताको घातक संघर्ष गलवानको घटना दुई छिमेकीबीच ४५ वर्षपश्चात भएको पहिलो घातक संघर्ष थियो । शुक्रबार चिनियाँ सेनाको समाचार निकाय पीएलए डेलीले गलवानमा मारिएका ‘बहादुर’ सैनिकहरू जसले आफ्नो ‘यौवन, रगत, र जीवन’ बलिदान दिए भन्दै नाम खुलाएको छ । भारत र चीनबीच दशकौंदेखि सीमा विवाद छ । जसको मुख्य कारण वास्तविक नियन्त्रण रेखा भनिने अस्पष्ट रूपमा व्याख्या गरिएको झन्डै ३५ सय किलोमिटर लामो विवादित सिमाना रहेको छ । दुई देशबीच झडप हुँदा बन्दुक वा विस्फोटक पदार्थ प्रयोग नगर्ने पुरानो सहमति छ । यो वर्षको जनवरीमा पनि दुई देशका सेनाबीच भारतको उत्तर पूर्वस्थित सिक्कीम राज्यस्थित सिमानामा झडप भएको थियो जसमा दुवै देशका सैनिक घाइते भएका थिए । तर त्यसयता दुवै सेनाले सिमानाका निश्चित स्थानहरूबाट पछाडि हट्ने सहमति गरेका छन् ।–बीबीसी