अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको विदेशमन्त्री ब्लिङ्कनको भनाइ

शनिबार, फागुन ८, २०७७

 वासिङ्टन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले ‘अमेरिका पूर्ववत् स्थितिमा फर्किएको’ बताउँदै महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकांक्षाजस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको बताएका छन् । आफ्नो पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्ताको रूपमा बीबीसीसँग कुरा गर्दै ब्लिङ्कनले कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिए । उनले कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना गरेका छन् ।
यसलाई डोनल्ड ट्रम्पको ‘अमेरिका पहिलो’ नीतिमा व्यापक हेरफेर हुने संकेतका रूपमा हेरिएको छ । विश्वका धनी औद्योगिक राष्ट्रहरूको समूह जी–७ का नेताहरू एउटा भर्चुअल सत्रका लागि जुटिरहेका बेला ब्लिङ्कनको यो धारणा आएको छ ।
खोपका बिषयमा ब्लिङ्कनले के भने ?
एक वर्षभित्र विश्वका १९० देशका मानिसहरूलाई दुई अर्ब मात्रा खोप दिने उद्देश्य राखेको कोभ्याक्स खोप कार्यक्रमका लागि अमेरिकाले ४ अर्ब डलर सहयोग गर्दैछ । ‘जबसम्म विश्वका सबैले खोप लगाउँदैनन्, त्यसबेलासम्म वास्तवमा कोही सुरक्षित हुँदैनन् । किनकी भाइरस रहिरह्यो भने त्यो फैलिरहन्छ र उत्परिवर्तन समेत हुन्छ’ ब्लिङ्कनले भने । अहिलेसम्म अमेरिकाले २ करोड ७० लाखभन्दा धेरै संख्यामा आफ्नै जनसंख्यामा खोप लगाएको छ । तर कैयौं गरिब देशहरूमा खोप कार्यक्रम अझै सुरु हुन सकेको छैन । ब्लिङ्कनले कोरोनाभाइरसको उत्पत्तिका वियमा प्रकाश पार्न सक्ने सूचना उपलब्ध गराउन चीन असफल भइरहेको समेत आरोप लगाए । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसन्धानकर्ताहरूको एउटा टोलीले सन् २०२१ को सुरुमै चीनमा चार साता बिताएको थियो । तर त्यसपछि डब्लुएचओको उक्त टोलीका दुईजना विज्ञहरूले उनीहरूले खोजेका विवरणमा चीनले पूर्ण पहुँच दिन अस्वीकार गरेको बताएका थिए । विदेशमन्त्री ब्लिङ्कनले महामारीहरू पूर्ण स्वरूपमा देखिनुअघि नै पहिचान गर्नका लागि अझ बलियो स्वास्थ्य सुरक्षा प्रणालीको आवश्यकता औंल्याएका छन् ।
‘जसका लागि देशहरू पारदर्शी हुनुपर्छ । उनीहरूले सूचना बाँड्नुपर्छ । उनीहरूले प्रकोपको सुरुमै अन्तर्राष्ट्रिय विज्ञहरूलाई पहुँच दिनुपर्छ–जुन कुरा दुर्भाग्यवस हामीले चीनबाट देखेनौ’, उनको भनाइ थियो ।

ब्लिङ्कनले थप के भने ?

  • इरानका विषयमा ब्लिङ्कनले अमेरिका र उसका युरोपेली साझेदारहरू ‘फेरि उही अवस्थामा रहेको’ बताएका छन् ।
  • अफगानिस्तानमा अमेरिकी फौज राखिराख्ने विषयमा अमेरिकाले अहिले आफ्नो नीति समीक्षा गरिरहेको बताए ।
  • बन्धक बनाइएकी दुबईका शासककी छोरीराजकुमारी लतिफा अल मुक्तमको अवस्थाबारे सोधिएको प्रश्नमा उनले त्यसलाई अमेरिकाले नजिकाबाट हेरिरहेको बताए ।
  • म्यान्माको सैन्य कूलाई उनले ‘एउटा ऐतिहासिक प्रजातान्त्रिक सङ्क्रमणमा दुस्खलाग्दो पश्चगमन’ भनेका छन् ।
  • चीनको सूचना जगतलाई विश्वको ‘कम खुलापन रहेकोमध्ये एक’ भन्दै उनले बीबीसी वल्र्ड न्यूज र बीबीसी विश्व सेवा रेडियोलाई प्रतिबन्ध लगाउने कदमको आलोचना गरेका छन् ।–बीबीसी 
     

प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  १५:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार