आजदेखि मौसममा सुधार हुने 

शुक्रबार, माघ ७, २०७८

काठमाडौँ, ७ माघ । पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
उक्त प्रणालीको प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् वरुणा पौडेलले बताए । “सो मौसमी प्रणाली भोलिदेखि कमजोर हँुदै जाने भएकाले शुक्रबारबाट मौसममा सुधार हुनेछ”, उनले भने ।
आज देशभर आंशिकदेखि सामान्यतया बदली रही हरेक प्रदेशका केही स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
विभागले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 
साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले यसबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ । 
 मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव ६ डिग्री र अधिकतम तापक्रम १८ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव चार डिग्री र सबै भन्दा धेरै दिपायलको अधिकतम तापक्रम २२ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भए । 
पश्चिमी वायुको प्रभावले बिहानैदेखि देशभरको आकाशमा बाक्लो तुवालो र हुस्सु÷कुइरो लागेकाले कतिपय विमानस्थलको उडान प्रभावित भएको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित भएको छ भने अन्तरराष्ट्रिय उडान भने नियमित सञ्चालन भए । 
विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंका अनुसार विशेषगरी देशको पूर्वी तराई भेगका विमानस्थलमा उडान प्रभावित भएको छ । अहिले विराटनगर, जनकपुर र सिमरामा उडान हुनसकेको छैन । विमानस्थलको पछिल्लो विवरणमा नेपालगञ्ज, भैरहवा र पोखरा विमानस्थलमा उडान सुचारु भएको छ ।
एयरलाइन्स कम्पनीका अनुसार प्रतिकूल मौसमले कतिपय विमानस्थल अझै खुलेका छैनन् । केही विमानस्थल ढिलोगरी खुलेकाले तीन घण्टासम्म उडान ढिलो भइरहेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । उनका अनुसार भरतपुर विमानस्थल बिहान ११ः३५ बजे र विराटनगर विमानस्थल २ बजे मात्रै खुलेको थियो । खुलेका विमानस्थलमा भने नियमित उडान भए । 
 

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  ०५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार