बेलायती राजकुमार ह्यारी मान पदवीमुक्त

शुक्रबार, फागुन ७, २०७७

लण्डन । बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त भएका छन् । दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहेकी उनकी पत्नी मेघन मर्केलले राजदरबार फर्किन अस्विकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो । उनीहरुले मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरेपनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो । तर शुक्रबार महारानी एलिजावेथ द्धितीयले उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेकी छन् । बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेपछि यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ । महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अव राजनीतिक तथा सार्वजनिक सम्वन्ध नरहेको उल्लेख गरेकी छन् । राजपरिवारको सदस्यका रूपमा उनीहरुको अव कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका पनि नहुने दरबारले जनाएको छ । गत वर्ष मार्चमा ह्यारी र मेघनले सामाजिक सञ्जालहरूमा पनि आफ्नो अन्तिम पोस्ट गर्दै बेलायती राज परिवारको वरिष्ठ सदस्यका रूपमा आफ्नो भूमिका छाड्ने घोषणा गरेका थिए । उनीहरु अहिले सामाजिक सञ्जालहरुबाट पनि टाढा छन् । सामाजिक सञ्जालमा धेरै घृणा सहनु परेको कारण ह्यारी र मेघनले ट्वीटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा आफूहरू प्रस्तुत नहुने निर्णय गरेको टाइम्स अफ लन्डनले लेखेको थियो । दुवै जनाले सामाजिक सञ्जालमा चाँडै फर्किहाल्ने संकेत देखाएका छैनन् । हलिउड अभिनेत्री मेघनसँगको प्रेम सम्वन्धलाई ह्यारीले बैवाहिक जीवनमा परिणत गरेका हुन् । उनीहरुका अहिले एक छोरा छन् । अर्को जन्माउने निश्चित भइसकेको छ ।–एएफपी 

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  २२:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार