पार्टी कमिटिलाई पूर्णता दिने प्रयास गर्दै दाहाल–नेपाल समूह 

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले केही दिनभित्रै प्रदेश, जिल्ला कमिटी, केन्द्रीय निकायलाई पूर्णता दिने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय समितिको बैठकले पार्टी एकीकरणका बाँकी काम तथा प्रदेश कमिटीका पदाधिकारीको चयन, जिल्ला कमिटीका पदाधिकारी र केन्द्रीय निकायको एकीककरणको कामलाई पूर्णता दिने निर्णय गरेको छ । बैठकमा त्यसका लागि प्रदेश कमिटी र जिल्ला कमिटीसमेतले पाएको जिम्मेवारी र अधिकारका बारेमा तुरुन्तै निर्णय गरेर विशेष परिपत्र जारी गरिने जानकारी अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आजको अनौपचारिक बैठकले प्रतिनिधिसभा विघटनको  कदमविरुद्ध पार्टीले जारी राखेको आन्दोलनको समीक्षासमेत गरेको उनले जानकारी दिए । सडक संघर्षको तीन चरणको कार्यक्रम सम्पन्न भएको र कानूनी लडाइँसमेत जारी रहेको अवस्थामा घोषणा गरिएको चौथो चरणको कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न गर्न सिंगो पार्टी परिचालन गर्न बैठकले निर्देशित गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ । यस्तै बैठकले संवैधानिक निकायले कानून सम्मत् तरिकाले विषयको निर्णय गर्ने र त्यो देश, जनताको हितमा समेत हुने विश्वास व्यक्त गरेको छ । बैठकमा आज अध्यक्षद्वय नेपाल र दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  २२:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार