लोकतन्त्रमा पटकपटक निर्वाचन हुन्छ : प्रधानमन्त्री 

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा पटकपटक निर्वाचन हुने बताएका छन् । ‘केही व्यक्तिले चुनाव भए लोकतन्त्र समाप्त हुन्छ भन्दै छन्’, उनले भने। ‘लोकतन्त्रमा चुनाव अपरिहार्य कुरा हो ।’ प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आज कमलादीमा आयोजना गरेको साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा उनले जनतामाझ जान कोही डराउन नहुने उल्लेख गरे । निर्वाचन हुन नदिनका लागि विभिन्न षड्यन्त्रहरू भइरहेकोले त्यसका लागि नेपाली जनता सचेत हुनुपर्ने प्रधानमन्त्री ओलीले उल्लेख गर्दै भने, ‘जनताको साथ लिएर सरकार अघि बढिरहेको छ ।’ निर्वाचन हुन्छ कि हुँदैन भन्नेबारे विभिन्न भ्रम फैलाउने गरिएको प्रसङ्गमा प्रधानमन्त्री ओलीले जनतालाई ढुक्कका साथ आफ्नो मतदान गर्न आग्रह गरे । लोकतन्त्र सुदृढ गर्न निर्वाचन आवश्यक भएको उनको भनाइ थियो । इतिहासमा पटकपटक आपसमा लडाउने भिडाउने षड्यन्त्र भएको उल्लेख गर्दै उनले देशलाई एकतामा बाँध्नु जरुरी भएको स्पष्ट पारे । ‘मेरो जीत आवश्यक छैन, जनतालाई जिताउनु छ’, प्रधानमन्त्री ओलीले भने । राज्यका विभिन्न निकायलाई धमक्याउने तर्साउने काम भइरहेकामा उनले आपत्ति प्रकट गरे । ताजा जनादेशका लागि प्रतिनिधिसभा भङ्ग गरेको उल्लेख गर्दै उनले जनमत लिनका लागि कोही पनि डराउन नहुने बताए । बहुमतका नाममा पार्टी फुटाउने चक्रब्युहको रचना गरिएकाले त्यसअघि नै चक्रब्युह तोडिएको प्रधानमन्त्री ओलीको भनाइ थियो । बहुमत भत्काएर देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिए पनि आफूले त्यसलाई सफल हुन नदिएको उनले उल्लेख गरे ।    विसं २००७ को परिवर्तन नै देशका लागि मुख्य जग भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बेलाबेलामा आन्दोलनका उपलब्धि खोसिने गरे पनि जनताको चेतना भने कसैले खोस्न नसक्ने बताए । ‘२००७ सालको परिवर्तनले सर्वाधिक दूरगामी महत्व राख्छ, त्यसकै परिवर्तनको जगमा देशमा अन्य परिवर्तनहरू भएका हुन्’ उनले भने । 
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले २००७ सालकै परिवर्तनका कारण नेपाल नयाँ युगमा प्रवेश गरेको बताए । बीचबीचमा विभिन्न विघ्नबाधा आए पनि २००७ सालकै जगमा देशमा महत्वपूर्ण परिवर्तन भएको उनले उल्लेख गरे ।सो अवसरमा प्रधानान्त्री ओलीले राष्ट्रव्यापी कविता र निबन्ध प्रतियोगितामा उत्कृष्ट भएका सर्जकलाई नगद र सम्मानपत्रसहित सम्मान गरेका थिए । निबन्धतर्फ गणेशप्रसाद भट्टराई प्रथम, रेजिना आपगाई दोस्रो र प्रेमराज सिलवाल तेस्रो तथा कवितातर्फ विक्रमपवन परियार प्रथम, गोविन्दगोपाल खतिवडा दोस्रो र तेज राई तेस्रो भए । उनीहरूलाई क्रमशः ५० हजार, ४० हजार र ३० हजार नगद प्रदान गरिएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानलाई देशभरबाट १७३ कविता तथा ७३ निबन्ध प्राप्त भएका थिए ।–रासस
 

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  २१:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार