सरकार लकडाउनको पक्षमा छैन : मन्त्री खतिवडा

सोमबार, माघ ३, २०७८

इनरुवा, ३ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ओमिक्रोनको सामना गर्न सरकार सक्षम रहेको बताएका छन् । सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला प्रशासन कार्यालयमा आज मन्त्री खतिवडाले पर्याप्त स्रोत साधनको उपलब्धता रहेकाले ओमिक्रोनसँग जुध्न सरकार सक्षम रहेको बताए । 
ओमिक्रोन यसअघिका भेरियन्टभन्दा कमजोर रहेको बताउँँदै मन्त्री खतिवडाले स्वयं सावधानी अपनाउन सके आइपरेको समस्याबाट सहजै पार पाउन सकिने धारणा व्यक्त गरे । कोरोनाको सम्बन्धमा अवस्था हेरेर स्थानीय प्रशासनले आफू पायक निर्णय लिन सक्ने उनले बताए । सबैलाई खोप दिलाउने लक्ष्यमा सरकार अघि बढेको भन्दै उनले पूर्ण खोप लगाएको हकमा बुस्टर डोजमा पुगेको जानकारी दिए। उहाँले बालबालिकाका लागि छिट्टै कोरोना खोप उपलब्ध गराइने बताए । कोरोनाको बढ्दो सङ्क्रमणको अवस्थालाई मनन गरेर स्थानीय तहले सोही अनुरुपको तयारी थाल्नुपर्ने उनले उल्लेख गरे । सरकार लकडाउनको पक्षमा नरहेको मन्त्री खतिवडाले स्पष्ट पारे । 

ओमिक्रोनको असर रोक्न स्वास्थ्य संस्थाको सबलीकरण
यता कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले ओमिक्रोनको असर न्यूनीकरणका लागि स्वास्थ्य संस्थाको सबलीकरणमा विशेष जोड दिइएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पत्रकार भेटघाटमा मुख्यमन्त्री शाहीले प्रदेश कोभिड व्यवस्थापन केन्द्र (पिसिएमसी) को बैठकबाट स्वास्थ्य संस्थाहरुको सबलीकरण, अक्सिजन प्लान्टको सञ्चालन तथा स्वास्थ्यकर्मीको परिचालनको प्रबन्ध मिलाइएको बताए । 
उनले एम्बुलेन्स खरिदका लागि प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय दैलेख, जाजरकोट र सल्यानका लागि रु २० लाखका दरले रु ८० लाख बजेट जानकारी दिए । सुर्खेत पञ्चपुरी नगरपालिकाको कोभिड–१९ व्यवस्थापकीय खर्चका लागि रु १० लाख, प्रदेश अस्पतालको मेसिनरी औजार (अनलाइन युपिएस सिस्टम) खरिदका लागि रु ३८ लाख र प्रदेश जनस्वास्थ्य प्रयोगशालाको आवश्यक मेसिनरी औजार खरिदका लागि रु दुई करोड बजेट पठाइएको उहाँको भनाइ थियो । 
कर्णाली प्रदेशबाट स्थापना भई स्थानीय तहमा सञ्चालनमा रहेका ६६ सामुदायिक स्वास्थ्य एकाइका लागि प्रति एकाइ रु पाँच लाखका दरले रु तीन करोड ३० लाख सम्बन्धित स्थानीय तहमा बजेट पठाई सामुदायिक स्वास्थ्य एकाइको सेवा निरन्तर गरिएको मुख्यमन्त्री शाहीले बताए । 
कोरोनाको पहिलो र दोस्रो लहरमा कर्णाली प्रदेशले भोग्नुपरेको अभावको गहिरो समीक्षा गरिएको बताउँदै उहाँले सो अभाव पूर्ति गर्न यो अवधिमा कर्णाली प्रदेश अस्पताल, जिल्ला अस्पताल दैलेख, कालीकोट र रुकुमपश्चिम, वीरेन्द्रनगर नगरपालिकासँगको साझेदारी एवं चौधरी फाउण्डेशनको सहयोगमा वीरेन्द्रनगर अस्पताल र युएनडिपीको साझेदारीमा गुर्भाकोट नगरपालिकास्थित मेहलकुना अस्पतालमा एक÷एक गरी आठ जिल्लामा (१०० देखि ५०० एलपिएम) क्षमताका अक्सिजन प्लान्ट स्थापना गरेको जनाए। 
प्रदेश सरकारका अनुसार कोरोनाको सम्भावित तेस्रो लहर रोक्नका लागि कर्णाली भित्रिने मुख्य तीन नाकामध्ये सुर्खेतको कुइनेमा अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एशोसियशन र अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटीको सहयोग तथा विङ्स फाउण्डेशनको समन्वयमा भदौ १ गतेदेखि नै कोरोना परीक्षण तथा सुर्खेतको जामुमा १५ बेडको अस्पताल सञ्चालनमा ल्याइएको छ ।
प्रदेशको मुख्य प्रवेशद्वार बबई भएर भारत, तेस्रो मुलुक र अन्य प्रदेशबाट कर्णाली प्रदेश आउने नागरिकलाई भेरीगङ्गा नगरपालिका–१२ स्थित सरुवा रोग अस्पताल निर्माणस्थलमा होल्डिङ सेन्टर निर्माण र गुर्भाकोट, पञ्चपुरी तथा सल्यानको कपुरकोटमा विगतमा स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टिन र आइसोलेसन सेन्टरलाई पुनः सञ्चालनमा ल्याउन तयारी थालिएको प्रदेश सरकारले जनाएको छ ।–रासस
 

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  २२:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार