कोरोनाको हटस्पट बन्दै उपत्यका

उपत्यकामा मात्रै थपिए तीन हजार ३४७ कोरोना संक्रमित
सोमबार, माघ ३, २०७८

काठमाडौँ, ३ माघ । देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ सङ्क्रमितभन्दा ३२५ ले बढी हो । शनिबार देशभरमा चार हजार ६३६ नयाँ सङ्क्रमित पुष्टि भएको थियो ।
उपत्यकाका तीन जिल्लामा तीन हजार ३४७ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा दुई हजार ५४५, ललितपुर ४७४ र भक्तपुरमा ३२८ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये चार हजार ५३४ को पिसीआर र ४२७ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा १५ हजार १३१ जनाको नमूना परीक्षण गरिएको थियो । १२ हजार ५६२ जनाले पिसीआर र दुई हजार ५६९ जनाले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा जम्मा परीक्षणमध्ये औषत सङ्क्रमणदर ३६ दशमलव एक प्रतिशत छ । यही अवधिमा ४३५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।
कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ५४ हजार ३१२ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ६८० रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा २९ र आइसीयूमा १२२ जना रहेका छन् । होम आइसोलेशनमा २४ हजार ५८४, संस्थागत आइसोलेशनमा एक हजार ९६ र संस्थागत क्वारेन्टिनमा १२१ रहेका छन् ।
सरकारले आजदेखि अग्रपङ्तिमा रहेका नागरिकलाई बुष्टर डोज खोप सुरु गरिसकेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताउनुभयो । देशभरमा हाल लगाइरहेको सबै खोप प्रभावकारी र निःशुल्क रहेको उनले बताए । खोपले गम्भीर स्वास्थ्य समस्याबाट बचाउने भन्दै उनले खोप लगाउनुपर्नेमा जोड दिए । उनले भने, “खोप लगाउने ठाउँमा स्वास्थ्यका मापदण्डको भने पालना गर्नुपर्छ ।”
सरकारले खोप कार्यक्रम विस्तारमा लागेको सहप्रवक्ता डा अधिकारीले बताउनुभयो । पुस मसान्तसम्म दुई तिहाइलाई खोप लगाउने लक्ष्य लिइएकामा बागमती र गण्डकी प्रदेशमा लक्ष्यानुसार लगाइसकिएको उनले बताए । उनले भने, “पुस मसान्तसम्ममा दुई तिहाइलाई लगाउने लक्ष्य लिइएकामा ६१ प्रतिशतलाई लगाइएको छ ।”

सुदूरपश्चिममा १८४ मा सङ्क्रमण, एकको मृत्यु

सुदूरपश्चिम प्रदेशमा आज थप  १८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४८७ जनाको नमूना परीक्षण गर्दा १८४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  
पीसीआरमार्फत सात र एन्टिजेनमार्फत १७७ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत कमलबार अस्पतालमा सात र एन्टिजेनमार्फत कञ्चनपुरका ९३, कैलालीका ७७, बैतडीका सात र दार्चुलाका पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ ।  
गएको २४ घण्टामा प्रदेशभर आठ जना निको भएका छन् । सो अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । बाजुराको खप्तडछेडेदह–२ का ५१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको हो । यसअघि शनिबार यस प्रदेशमा २८३ जनामा सङ्क्रमण पुष्टि हुँदा आठ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१६ जनाको ज्यान गइसकेको छ ।

प्रदेश १ मा ३४७ जनामा कोरोना सङ्क्रमण
प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३४७ जनामा कोरोना सङ्क्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ६९५ जनाको पिसीआर परीक्षण गर्दा ३०४ र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा सङ्क्रमण देखिएको हो । 
मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा १६६, झापामा ५८, सुनसरीमा ५१, उदयपुरमा पाँच, ताप्लेजुङ र भोजपुरमा दुई–दुई, खोटाङमा एक र प्रदेश बाहिरका १९ जनामा सङ्क्रमण भएको हो । प्रदेशमा आइतबार सात महिलासहित २१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ६८० रहेको मन्त्रालयले जनाएको छ ।

खोप लगाउने दर बढ्दै 

सुदूरपश्चिम प्रदेशमा केही हप्ता अघिसम्म सुस्त रहेको कोरोना भाइरसविरुद्धको खोप लागाउने दर पछिल्ला दिनमा बढेको छ । कोरोना सङ्क्रमणदर बढेसँगै खोप लगाउने दर पनि पछिल्ला दिनमा बढेको स्वास्थ्य निर्देशनालय दिपायलका खोप सम्पर्क व्यक्ति मीनराज जोशीले जानकारी दिए ।
प्रदेशमा हालसम्म खोप दिनुपर्ने लक्षित जनसङ्ख्या २२ लाख ८३ हजार ३८८ जनाको ५९ प्रतिशतले पूर्ण मात्राको खोप पाइसकेका छन् । सङ्क्रमणदर उकालो लागेपछि खोप लगाउने र नमूना परीक्षण गराउन नागरिकले चासो राखेसँगै खोप लगाउने दर पनि बढेको देखिएको हो । “खोप केन्द्रमा केही समय अघिसम्म मुस्किलले दिनमा १०÷१५ जनामात्रै खोप लगाउन आउँथे”, जोशीले भने, “कोरोना बढेसँगै हाल प्रदेशभरि दैनिक १५ देखि २० हजारले खोप लगाइरहेका छन् ।” 
बाह्रदेखि १७ वर्ष उमेर समूहका ६४ प्रतिशतले पहिलो मात्राको खोप पाइसकेका छन् । उनीहरूलाई दोस्रो मात्राको खोप दिने समय पूरा भएपछि दोस्रो खोप दिने तयारी गरिएको छ । खोप उपलब्धताको हिसाबमा हाल कुनै समस्या नरहेको बताइएको छ । खोपप्रति मान्छेको आकर्षण घट्दै गएको तथा खोप लगाउन आवश्यक पर्ने सिरिन्जको अभावसमेत देखिएपछि खोपको काम बीचमा केही सुस्त देखिएको थियो ।

पूर्ण मात्राको खोप पाएर छ महिना अवधि पुगेका व्यक्तिलाई बुस्टर डोजको खोप दिने तयारी थालिएको छ । पहिलो चरणमा माघ ४ गतेदेखि अग्रपङ्क्तिमा खटिनेलाई यो खोप दिने तयारी छ । माघ १४ गतेपछि पूर्ण खोप पाएका ६० वर्षमाथिका व्यक्तिलाई भेरोसेल खोप लगाउने तयारी छ । प्रदेशमा भेरोसेल खोपको दुई लाख ४० हजार मात्र र कोभिशिल्ड खोपको ८० हजार मात्रा केन्द्रसँग माग गरिएको छ । 
मोडर्नाको दोस्रो मात्रा खोप लगाउन दुई लाख ३५ हजार मात्रा मगाइएको खोप सम्पर्क व्यक्ति जोशीले जानकारी दिए । भारतबाट भित्रिनेहरूलाई सीमानाकामै एन्टिजेन परीक्षणपश्चात एक मात्र खोप दिएर पुग्ने खोप लगाउने गरिएको छ । आगामी चैतसम्म लक्षित सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य सरकारको छ ।
निर्देशनालयका कोभिड–१९सम्पर्क व्यक्ति हेमराज जोशीले पछिल्ला दिनमा प्रदेशमा खोप अभियान तीव्र बनेको बताए । 
सङ्क्रमणदर एकाएक उकालो लागेसँगै नमूना परीक्षण गराउन आउनेको पनि चाप बढेको छ । निर्देशालयको तथ्याङ्कअनुसार गएको छ दिनमा १० हजार ६९५ जनाको नमूना परीक्षण गरिएकामा एक हजार ५९१ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।  सङ्क्रमितको यो सङ्ख्या नमूना परीक्षण गरिएकाको झण्डै १५ प्रतिशत हो । प्रदेशमा सङ्क्रमित हुनेमध्ये अधिकांश भारतबाट भित्रिनेहरू रहेका छन् । 
अस्पतालका शय्या सङ्क्रमित बिरामीले भरिन थालेका छन् । सङ्क्रमण भई अवस्था जटिल भएका कतिपय बिरामीलाई आइसीयू र भेन्टिलेटरमा राखेर उपचार व्यवस्थापन भइरहेको छ । सीमानाका हुँदै भारतबाट फर्किनेहरूका उचितरूपमा व्यवस्थापन नभइरहँदा यसको सङ्क्रमण फैलिएको बताइएको छ । सङ्क्रमणको समस्या भएको देश भारतबाट भित्रिनेको सम्पर्कमा आउनेको गर्नुपर्ने ‘कन्ट्याक्ट ट्रेसिङ’ र भित्रिनेलाई समयमै क्वारेन्टिन अथवा आइसोलेशनमा राख्नमा देखिएको कमी–कमजोरीले कोरोना समुदायस्तरसम्म फैलिएको स्वास्थ्यकर्मीको बुझाइ छ ।
सीमाबाट भित्रिनेहरुको व्यवस्थापनका लागि भनेर निर्माण सुरु गरिएको होल्डिङ सेन्टरको अझै निर्माण पूरा हुनसकेको छैन । कैलाली र कञ्चनपुरमा एक– एक हजार क्षमताको होल्डिङ सेन्टर गएको असारदेखि नै निर्माण सुरु गरिएको थियो । हालकै गतिमा भइरहेको कोरोना सङ्क्रमणदर नरोकिएमा अस्पतालको हालको भौतिक तथा जनशक्तिको पूर्वाधारले धान्न नसकेर उपचार व्यवस्थापनमा थप चुनौती आउने देखिन्छ ।
कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सुरुका वर्षको तुलनामा हाल अस्पताल र स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार जुटेको भए पनि दक्ष जनशक्तिको भने अझै अभाव रहेको जनाइएको छ । यसैबीच कोरोना भाइरसबाट सङ्क्रमित बाजुरा खप्तड छेडेदह गाउँपालिकाका ५२ वर्षीय पुरुषको आज होमआइसोलेशनमै मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले गएको २४ घण्टामा प्रदेशमा थप १८४ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ ।–रासस

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  ०७:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार