चुनावमा जुट्न कार्यकर्तालाई देउवाको आग्रह

शुक्रबार, फागुन ७, २०७७

त्रिशूली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव हुने भएकाले तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन् । कांग्रेस नुवाकोटको पार्टी कार्यालय (विपी स्मृति भवन) को विदुरमा आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले तोकिएको मितिमा चुनाव हुनेमा विश्वस्त हुँदै पार्टीलाई पहिलो बनाउन प्रचार अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरे । उनले संसद् विघटनसम्बन्धी सडकमा बहस नगर्न सचेत गराउँदै अदालतको फैसलाको काँग्रेसले स्वागत गर्ने उल्लेख गरे । ‘विघटन भएको संसद् पुनःस्थापना हुुनुपर्छ भनेर अदालतमा विचाराधीन विषय संवेदनशील हुन्छ, त्यसमा दबाब दिनुहुन्न’, देउवाले भने, ‘अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुनाव चिह्न र पार्टीको आधिकारिता विवाद पनि चुनावी तयारीको संघर्ष हो ।’ कार्यक्रममा पार्टी नेता प्रकाशमान सिंहले अदालतले विवेकपूर्ण निर्णय दिएर अस्थिरता हटाउँछ भन्नेमा आशावादी हुनुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य अजुर्ननरसिंह केसी, डा.रामशरण महत, गगनकुमार थापा, कमला पन्त, प्रदीप पौडेल, बहादुरसिंह लामा तामाङलगायतले मुलुकमा अराजकता बढिरहेको टिप्पणी गरे । विसं २०५८ मा विपी स्मृति भवनका नाममा शिलान्यास भएको पार्टी कार्यालय करीब चार करोड रुपैयाँ लगानीमा निर्माण गरिएको हो । उक्त भवनसहित त्यहाँ रहेको गणेशमान स्मृति सभाकक्ष, डिजिटल बोर्डलगायतको पनि आजै उद्घाटन गरिएको छ । भवनमा नौ कोठा तथा बन्द सभाकक्ष र खुला गरेर दुई सभाकक्ष छन् ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  २०:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार