एकै गाउँका छ जनाको मृत्युपछि शोकमा डुब्यो बन्दीपुर

शनिबार, माघ १, २०७८

दमौली, १ माघ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घटनाले गाउँ शोकमा डुबेको छ । साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा छ जनाको मृत्यु भएपछि बन्दीपुर शोकमा डुबेको हो । माघे सङ्क्रान्ति पर्वको अघिल्लो दिन भएको दुर्घटनाले सबैलाई दुखित तुल्याएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । “चाडपर्वका बेला भएको दुर्घटनाले बाक्से, हटिया मात्र नभई सिङ्गो पालिका शोकमा डुबेको छ”, उनले भने । अध्यक्ष थापाका अनुसार आँबुखैरेनीको घुमाउनेबाट बुद्धसिंह मार्ग हुँदै बन्दीपुरतर्फ गुडेको जीप हटिया गाउँ आइपुग्नुभन्दा केही नजिक उकालोबाट व्याक भएर खसेको थियो । जीपको स्टार्ट बन्द भएर पुनःस्टार्ट गर्न खोज्दा पछाडि हटेपछि जीप दुर्घटना भएको उनले बताए । “चालक सिकारु रहेको बुझिन आएको छ, चालक फरार छ”, उनले भने । 
दुर्घटनाको खबर पाएलगत्तै जनप्रतिनिधि, प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए । अध्यक्ष थापाका अनुसार बन्दीपुर र आसपासबाट आठ वटा एम्बुलेन्स उद्धारका लागि पठाइएको थियो । घाइतेको उपचारका लागि बन्दीपुरमा रहेका सबै चिकित्सकलाई परिचालन गरिएको थियो । “घाइतेको उपचारमा कुनै कसर बाँकी राखेका छैनौँ, घाइते भएका आठ जनालाई थप उपचारका लागि राति नै भरतपुर अस्पताल पठाएका छौँ”, अध्यक्ष थापाले भने । 
बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष सन्तबहादुर गुरुङले दुर्घटनाले वडावासी शोकमा डुबेको बताए । उनका अनुसार मृतकमध्ये एक दम्पती पनि छन् । एकैघरका आमा छोराको पनि दुर्घटनामा मृत्यु भएको छ । “चार जनाको शव घटनास्थलबाट निकालेका थियौँ, थप दुईको उपचारका क्रममा मृत्यु भयो”, उनले भने । 
प्रहरीका अनुसार दुर्घटनामा परी बन्दीपुर गाउँपालिका–६ का ५३ वर्षीय हरि न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, २४ वर्षीय रोशन गुरुङ, नौमहिने बालिका आरुबी थापा, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया विममाया गुरुङको मृत्यु भएको छ । 
दुर्घटनामा २१ वर्षीया जमुना थापा, ४८ वर्षीया ममकुली गुरुङ, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया सनिसा थापा, सात महिनाकी बालिका विविशा थापा, १८ वर्षीय कुमार थापा, २० वर्षीय दानबहादुर थापा र २१ वर्षीय विपीन थापा घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

बन्दीपुर जीप दुर्घटनाका दुई जना घाइते उपचारपछि घर फिर्ता
तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित भित्री सडकखण्डमा शुक्रबार भएको जीप दुर्घटनाका घाइतेमध्ये दुई जना उपचारपछि घर फिर्ता भएका छन् ।  साराङघाटबाट धरमपानीतर्फ आउँदै गरेको जीप दुर्घटनामा घाइते भएका आठ जनामध्ये दुई जना भरतपुर अस्पतालमा उपचारपश्चात् घर फर्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार २१ वर्षीया जमुना थापा र १८ वर्षीय कुमार थापा उपचारपश्चात् घर फिर्ता भएका हुन् । अन्य घाइतेको अवस्था पनि सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका ४८ वर्षीया ममकुली गुरुङ, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया सनिसा थापा, सात महिनाकी बालिका विविशा थापा, २० वर्षीय दानबहादुर थापा र २१ वर्षीय विपीन थापाको उपचार भइरहेको छ । दुर्घटनामा बन्दीपुर गाउँपालिका–६ का ५३ वर्षीय हरि न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, २४ वर्षीय रोशन गुरुङ, ९ महिने बालिका आरुबी थापा, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया विममाया गुरुङको मृत्यु भएको थियो ।–रासस

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  २१:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार