सोसल मिडिया
Contact Us
युनिकोड
दमौली, १ माघ । कोभिड–१९ को महामारीका बीचमा पनि तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा भक्तजन पुगेका छन् । माघे सङ्क्रान्ति पर्वको अवसरमा आज स्नान गर्नका लागि देवघाटधाममा भक्तजन पुगेका हुन् । कोरोना महामारीका कारण देवघाटमा भक्तजनलाई प्रवेश निषेध गर्ने निर्णय गरिएको तर पैदलयात्रामार्फत आएका भक्तजनलाई बिहान ८ः३० बजेदेखि प्रवेशको व्यवस्था मिलाइएको थियो । कोरोना त्रासका कारण देवघाटमा बाहिरी जिल्लाबाट आउनेलाई प्रवेश निषेध गर्ने भनिए पनि पैदलयात्रामार्फत आउनेलाई प्रवेश दिइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिए। माघे सङ्क्रान्ति पर्वका अवसरमा देवघाटमा वर्षेनी लाखौँ भक्तजन आउने गर्दछन् तर यसपटक कोरोना महामारीका कारण भक्तजन घटेका छन् । “सुरुमा त यस वर्ष प्रवेश निषेध गर्ने निर्णय नै भएको हो, तर भक्तजनको आगमनलाई नर्कान नसकेर निकै कम मात्र भक्तजनलाई प्रवेश दिएका छौँ”, घिमिरेले भने, “कोरोना जोखिम रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर स्नान गर्न अनुरोध गरेका छौँ ।” उनका अनुसार सवारीसाधनलाई भने देवघाट प्रवेशमा निषेध गरिएको छ । तनहुँ र चितवनतर्फ गरी करिब पाँच हजार भक्तजनले स्नान गरेको अनुमान गरिएको छ । “पाँच लाखभन्दा बढी भक्तजन आउने माघे सङ्क्रान्तिमा पाँच हजार निकै कम हो”, उनले भने । देवघाट गाउँपालिका–५ स्थित त्रिशूली नदी र कालीगण्डकी नदीको सङ्गम वेणीमा शुक्रबार बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । माघे सङ्क्रान्तिमा देवघाटमा हुने मेला नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध मानिन्छ । गोसाइँकुण्डबाट बगेको त्रिशूली र दामोदरकुण्डबाट बगेको कालीगण्डकीको सङ्गम देवघाटको वेणीमा स्नान गर्नाले पुण्यप्राप्त हुने विश्वास छ ।
मकर नुहाउन गएका युवक मृत्यु पाँचथरमा मकर नुहाउन गएका एक युवकको खोलाले बगाएर मृत्यु भएको छ । मकर नुहाउने क्रममा आज दिउँसो १२ः४५ बजे जिल्लाको तुम्बेवा गाउँपालिका–१ रातमाटेका २९ वर्षीय इन्द्रबहादुर बुढाथोकीलाई तमोर नदीले लिक्टिङ भन्ने ठाउँबाट बगाएको थियो । बुढाथोकी बेपत्ता भएपछि मकर नुहाउन पुगेका स्थानीयवासी तथा इलाका प्रहरी कार्यालय मौवा र अस्थायी प्रहरी चौकी नुवाखोलाबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा करिब चार किलोमिटर दक्षिणमा बुढाथोकीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । तुम्बेवा–२ हाकपारामा नदी किनारामा बुढाथोकीको शव फेला परेपछि कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय रबिबाट प्रहरी निरीक्षक केशव अधिकारीको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।–रासस