पाकिस्तानद्वारा पहिलो पटक राष्ट्रिय सुरक्षा नीति सार्वजनिक

शनिबार, माघ १, २०७८

इस्लामाबाद, १ माघ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले देशमा पहिलो पटक राष्ट्रिय सुरक्षा नीतिको सार्वजनिक संस्करणको सुरुआत गरेका छन् । यसलाई देशमा समावेशी विकासका लागि ‘सबै समेट्ने’ ढाँचा भनिएको छ । यहाँ आयोजित शुभारम्भ समारोहलाई सम्बोधन गर्दै खानले पाकिस्तानको सुरक्षा आफ्ना नागरिकको सुरक्षामा रहेको धारणामा यो नीतिगत रोडम्याप नागरिक केन्द्रित रहेको बताए । कुनै पनि राष्ट्रिय सुरक्षा पद्धतिले विभेदरहित मौलिक हक र सामाजिक न्यायको प्रत्याभूति दिलाउँदै राष्ट्रिय सहमति र जनताको समृद्धिलाई प्राथमिकता दिनुपर्ने प्रधानमन्त्री खानले बताए । नागरिकहरूको विशाल क्षमता प्राप्त गर्न पाकिस्तानले वितरणमा आधारित सुशासनलाई बढावा दिनु आवश्यक भएको उनको तर्क छ । 
खानले पाकिस्तानको विदेश नीति र सैन्य क्षमताको प्रमुख लक्ष्य यस क्षेत्र र त्यसभन्दा बाहिर शान्ति र स्थिरता रहने बताउँदै पाकिस्तानको विदेश नीति आर्थिक कूटनीतिसँगै सम्बन्ध प्रवद्र्धनमा पनि धेरै केन्द्रित हुने बताए । सो अवसरमा पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले परम्परागत र गैर परम्परागत दुवै मुद्दाले पाकिस्तानको सुरक्षामा असर पार्ने भएकाले यो नीतिगत ढाँचाले राष्ट्रिय सुरक्षालाई व्यापक रूपमा लिएको बताए । 
राष्ट्रिय सुरक्षा नीति आर्थिक सुरक्षाको वरिपरि केन्द्रित छ र भू–रणनीतिक, रणनीति तथा अपेक्षाहरूमा पाकिस्तानको सुरक्षालाई सुदृढ पार्न र विश्वमा खडा हुन पनि प्रमुख भूमिका रहेको युसुफले बताउनुभयो । राष्ट्रिय सुरक्षा नीतिलाई पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति र सङ्घीय मन्त्रीमण्डलले डिसेम्बरको अन्ततिर अनुमोदन गरेको थियो ।– रासस/सिन्ह्वा
 
 

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  ०६:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार