सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण एउटा लामो र निरन्तर प्रक्रिया भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ का अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै उहाँले लोकतन्त्रको सुव्यवस्थित र संस्थागत अभ्यासका बारेमा गम्भीर समीक्षा गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘नेपाली जनताको त्याग, विभिन्न कालखण्डमा भएका सङ्घर्ष र बलिदानको प्रतिफलका रुपमा प्राप्त लोकतन्त्रको जीवन्त र जनमुखी अभ्यास गर्नुपर्ने अवस्थामा यसको पालना, संरक्षण र संवद्र्धन गर्ने दायित्व बहनको विषय लोकतन्त्रका लागि मुख्य चुनौतीका रुपमा खडा भएको छ ।’ लोकतन्त्र र संविधानमाथि देखिएका चुनौतीको सामना गर्दै यसको उन्नत अभ्यासका लागि सबै राजनीतिक दल, नागरिक समाज, कानून व्यवसायी, बुद्धिजीवी, सञ्चार जगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र जागरुक हुनुपर्ने अवस्था आएको सभामुखले सन्देशमा स्पष्ट गरेका छन् । सभामुखको सन्देशमा भनिएको छ, ‘लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न सङ्घर्षका क्रममा जीवन आहुति दिनुभएका सम्पूर्ण महान शहीदप्रति उच्च सम्मान प्रकट गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।’ जनताको आर्थिक, सामाजिक रुपान्तरण नै जनचाहना : अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लोकतान्त्रिक शासन व्यवस्थासँगै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरण नेपाली जनताको चाहना भएको बताएका छन् । अध्यक्ष तिमिल्सिनाले ७१औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै १०४ वर्षे जहानियाँ निरंकुश राणाशासन अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापना गर्न तथा त्यसपछिका लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनले भनेका छन्, ‘मुलुकमा आर्थिक सक्षमता, सामाजिक तथा सांस्कृतिक सद्भाव तथा ऐक्यबद्धता भएमात्रै नेपालको संविधानले परिकल्पना गरेको समाजवाद हासिल गर्न सम्भव हुन्छ ।’ सङ्घीय व्यवस्थाअनुसार स्थापित तीन तहका सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न क्रियाशील रहेको भन्दै अध्यक्ष तिमिल्सिनाले दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न प्रजातन्त्रका आधारभूत मूल्यमान्यतालाई जीवन पद्धतिका रुपमा आत्मसात् गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । नेपाली जनताको सात दशकभन्दा लामो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नेपालको संविधान २०७२ जारी भएको तथ्य पेश गर्दै अध्यक्ष तिमिल्सिनाले आन्दोलनमा प्रतिविम्बित जनइच्छाअनुसार नै आज हामीले गर्वका साथ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति अपनाइरहेका छौँ भनेका छन् । नेपालको संविधानले प्रजातन्त्रका मूलभूत मान्यता कानूनी शासन, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, मानवाधिकार, मौलिक अधिकार, वालिग मताधिकार सुनिश्चित गरेको भन्दै उनले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, लैङ्गिक समानता संविधानको मूल विशेषता भएको सन्देशमा उल्लेख गरेका छन् ।–रासस