बढ्यो कन्दमूलको कारोबार

शुक्रबार, पुस ३०, २०७८

काठमाडौँ, ३० पुस । माघे सक्रान्ति नजिकिँदै जादा तरुल, पिँडालु, सखरखण्डलगायत कन्दमूलको कारोबार बढेको छ । कालिमाटीस्थित तरकारी तथा फलफूल विकास समितिले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्ष पुस महिनामा करिब एक हजार ८०० मेट्रिक टन कन्दमूलको व्यापार भएको छ । गत वर्षको तुलनामा २२१ मेट्रिक टन कन्दमूल बढी आयात तथा कारोबार भएको समितिका कार्यकारी निर्देशक डालप्रसाद पुडासैनीले जानकारी दिए। 
यी कन्दमूलको ९० प्रतिशत उत्पादन आन्तरिक बजारले ओगटेको छ भने १० प्रतिशत भारतबाट आयात हुने गरेको छ । सर्लाहीबाट आउने तरुलले ४० प्रतिशत तथा सुनसरीको तरुलले बाजारको २० प्रतिशत माग पूरा गरेको छ  भने चितवन, धादिङलगायत अन्य जिल्लाले ३० प्रतिशत बजारको हिस्सा कायम गरेको छ । 
वर्षभरिमा करिब दुई हजार ८०० मेट्रिक टन कन्दमूलको कारोबार हुने गरेको छ । घर तरुल, सेतो तरुल, रोतो तरुल, वन तरुल, पातले तरुल, जल तरुल, पानी तरुललगायत आन्तरिक उत्पादन हुन् । तरुल प्रति किलो रू ४० देखि रू ८० सम्ममा कारोबार भएको छ । 
सरकारी स्रोतबाट निर्माण भएको उक्त बजार काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो मानिन्छ । समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार बजारमा विभिन्न जिल्लाका साथै भारत, चीनबाट आयात हुने विभिन्न तरकारी दैनिक कारोबार हुने गर्दछ । सो बजारबाट उपत्यकाका अन्य बजारमा ८० प्रतिशत तरकारी आपूर्ति हुने गरेको व्यवसायी नविन शाहीले जानकारी दिए। बजारमा ६०० भन्दा बढी बिक्री कक्ष छन् ।–रासस

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  २०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार