सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, ३० पुस । नेपाली नागरिकले जन्मका आधारमा नागरिकता पाउने कानूनी प्रबन्ध छ । नागरिकता पाउने नेपाली नागरिकको जन्मसिद्ध अधिकार हो । नागरिकताको सिफारिसका लागि स्थानीय निकायले केही सामान्य शुल्क तोकेको हुन्छ । स्याङ्जा जिल्लाको एक नगरपालिकाका वडाध्यक्ष र वडा सदस्यले नागरिकता बनाइदिन्छु भनी रु एक लाख ३५ हजार घुस लिएको फेला परेको छ । स्याङ्जाको भिरकोट नगरपालिका–९ का वडाअध्यक्ष भीमबहादुर गुरुङ र वडा सदस्य कुलबहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाइदिन्छु भनेर घुस लिएको पाइएको हो । वडाध्यक्ष भीमबहादुरले आर्थिक प्रलोभनका आधारमा परी दोहोरो नागरिकता बनाउन झुठो विवरणका आधारमा बद्नियत तरिकाले गलत सिफारिस गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगले आज वडाध्यक्ष भीमबहादुरविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
बिजुलीको खम्बा सार्दा घुस
नेपाल विद्युत् प्राधिकरणले सेवाग्राहीलाई सहजरूपमा सेवा दिने भन्दै पटकपटक सार्वजनिक प्रतिबद्धता जनाएको छ । कुनै पनि काम सात दिनभित्र सम्पन्न गर्ने नीतिगत व्यवस्था पनि गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेवाग्राहीसँग कुनै पनि अनावश्यक माग नराख्न तथा हुने काम हुने भन्न, नहुने काम अहिले हुँदैन भन्ने निर्देशन दिए पनि कर्मचारीले भने अटेर गरेर घुस लिएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्राधिकरण काठमाडौँ ग्रीड महाशाखा सवस्टेशन पाटन ललितपुरमा कार्यरत सवस्टेशन प्रमुखलाई रु एक लाख ४० हजार घुससहित पक्राउ गरेको छ । सवस्टेशन प्रमुख सोमप्रसाद पहाडीले प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टङ्गालबाट गएको टोलीले पक्राउ गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार पहाडीलाई घुस लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरेको हो । आरोपी पहाडीको थप अनुसन्धान भइरहेको छ ।