स्वास्थ्य मन्त्रालयले दरबन्दीअनुसार जनशक्ति र करार कर्मचारीको अवधि थप गर्ने

शुक्रबार, पुस ३०, २०७८

काठमाडौँ, ३० पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य संस्थालाई दरबन्दी अनुसारको जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरेको छ ।  
स्वास्थ्यमन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले सबै शिक्षण अस्पताल, प्रतिष्ठान, अस्पताल र प्रयोगशालालाई दरबन्दीअनुसार जनशक्तिको व्यवस्थापन र करारमा लिएका जनशक्तिको अवधि तीन महिना म्याद थप गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । 
उनका अनुसार आजै नै ति अस्पताललाई दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन गर्न र  करारमा नियुक्त गरिएका स्वास्थ्यकर्मी र कर्मचारीको माघ महिनादेखि तीन महिनासम्म अवधि थप गर्न निर्देशन दिइसकेको बताउनुभयो । ओमिक्रोन भेरियन्टका कारण अहिले सङ्क्रमण बढेको छ ।

निर्देशक समिति बनाउने निर्णय

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आज बसेको बैठकले प्रदेशमा कोभिड–१९ को रोकथाम, नियन्त्रण एवं उपचारका लागि निर्देशक समिति बनाउने निर्णय गरेको छ ।

सार्वजनिक सेवा पाउन अनिवार्य खोप कार्ड

जुम्लामा सार्वजनिक सेवा पाउन अनिवार्य खोप कार्ड हुनुपर्ने व्यवस्था गरिने भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले यस्तो आग्रह गरेको हो ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जुम्लाका नागरिकलाई सङ्क्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ ।सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य कोभिड विरुद्धको खोप लगाएको कार्ड हुनुपर्नेछ । सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै उपस्थित हुने प्रशासनिक र सामाजिक कार्यक्रम नगर्न समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् । 
अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने, सार्वजनिकस्थलमा २५ जनाबढी भेला हुन गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्ने निर्णय गरिएको प्रजिअ प्रसाईंले बताइन् । “७ माघ देखि लागू हुने गरी सार्वजनिकस्थल, कार्यालय, होटल, रेस्टुरेण्ट, सार्वजनिक यातायात र बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्दा अनिवार्य कोभिड विरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने व्यवस्था गरिएको छ”, प्रजिअ प्रसार्इंले बताइन् । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  ०८:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार