सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार देशै भर प्रदर्शन ग¥यो । पार्टीको जिल्ला कार्यसमितिको आयोजनामा भएको विरोध प्रदर्शनमा केन्द्रीय नेताहरु सहभागी भए । देशव्यापी भएको प्रदर्शनमा सहभागी नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई कांग्रेस सभापति शेरबहादुर देउवाले आभार प्रकट गरेका छन् । सभापति देउवाले विज्ञप्ति प्रकाशित गर्दै सोमबार ७७ जिल्लामा कांग्रेसका जिल्ला कार्यसमितिले आयोजना गरेको संसद् विघटनको कदमविरुद्धको विरोध प्रदर्शनमा सहभागी नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका हुन् । उनले प्रदर्शनले प्रतिनिधिसभा विघटन, मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा देखिएको अकर्मन्यता र कुशासनका विरुद्ध जनभावना अभिव्यक्त भएको समेत उल्लेख गरेका छन् । प्रदर्शन सफल बनाउन अहोरात्र खट्ने पार्टी, भ्रातृ एवं शुभेच्छुक संस्थाका सदस्य र सामाजिक सञ्जालमार्फत भूमिका निर्वाह गर्ने युवालाई बधाई ज्ञापन गरेका छन् । उनले कार्यक्रम घोषणा भएदेखि समापन हुँदासम्म निरन्तर समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मीप्रति पनि धन्यवाद ज्ञापन गरेका छन् । ‘कांग्रेस अदालतलाई प्रभावमा पार्न चाहँदैन’
कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिद्वारा बसन्तपुर डबलीमा आयोजित विरोधसभामा कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसले सम्मानीत सर्वोच्च अदालतलाई दबाब र प्रभावित पार्न नचाहेको बताए । नेता केसीले संविधानमा जे लेखिएको छ त्यही कुराको पालना होस् भन्ने पक्षमा कांग्रेस रहेको स्पष्ट पारे । संविधानमा उल्लेखित धाराहरुको अनावश्यक व्याख्या गर्न हुँदैन भन्ने कांग्रेसको अडान रहेको उनले उल्लेख गरे । संविधानमा उल्लेख गरिएका धाराहरुलाई टेकेर अदालतले प्रतिनिधिसभा विघटनको मुद्दाको फैसला गर्नुपर्नेमा नेता केसीले जोड दिए । आफ्नो पार्टीले विरोधसभा र आन्दोलन गरेर अदालतलाई कुनै पनि हालतमा प्रभावित पार्न नखोजेको उनको भनाइ थियो । यता ललितपुर कांग्रेस जिल्ला कार्यमितिले लगनखेल बसपार्कमा आयोजना गरेको विरोध सभामा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिगमनविरुद्ध पाटनवासी जुर्मुराइसकेको उल्लेख गर्दै पाटनवासी सिंहदरबारतर्फ अघि बद्छ तब सिंहदरबार वा बालुवाटामार उभिएको प्रतिगमन थचक्क बस्ने बताए । कांग्रेसले इतिहासदेखि गर्दै आएको योगदानलाई जनतालाई उनीहरुले बुझ्ने शैलीमा बुझाउन नसकेको उल्लेख गर्दै प्रवक्ता शर्माले कांग्रेसले प्रतिगतमका विरुद्ध एक्लै आन्दोलनमा गर्ने बताए । यो आन्दोलन कुनै एक गुटसँग कांग्रेसले संयुक्त रुपमा गर्दै उनले भने । सभामा नेपाली कांग्रेस ललितपुरका सपभापति मदनबहादुर अमात्यले प्रतिगमनविरुद्धको कांग्रेसले शालिन प्रदर्शन गर्ने बताए । ‘हामी सडकका रेलिङ भाज्दैनौ, सडकमा गुडिरहेको सवारी साधान तोडफोड गर्र्दैनौ । हाम्रो आन्दोलन शालिन हुन्छ’ सभापति अमात्यले भने, ‘सरकारले थप गलत कदम नचालोस भनेर विरोध प्रदर्शन गरिरहेका छौं ।’ उनले भने, ‘कांग्रेस स्वतन्त्र न्यायपालिका हुनुपर्छ भन्ने अवधारणा बोकेको पार्टी हो । त्यसैले न्यायपालिकालाई दबाबमा पार्ने, प्रभाव पार्ने गतिविधि कहिल्यै गर्दैन ।’
उता बैतडीमा आयोजित सभामा कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले सिङ्गो नेपाली कांग्रेस भागरथी भट्टको न्यायको पक्षमा रहेको बताए । सदरमुकामस्थित गोठलापानीमा कांग्रेसले आयोजना गरेको विरोधसभामा उनले भागरथीको न्यायका लागि कांग्रेस लागिपरेको बताए । प्रहरी अनुसन्धान प्रभावित हुने भन्दै केही दिन आन्दोलन नगर्न प्रहरीले गरेको आग्रहअनुसार आफूहरुले अहिले आन्दोलन नगरेको उनको धारणा थियो । यस्तै दार्चुलामा कांग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले नयाँ नक्शाअनुसारको भूमि नेपालमा ल्याउन सरकारलाई आह्वान गरिन् । दार्चुलामा आयोजित विरोधसभा नेतृ संग्रौलाले नेपालको भूमी लिपुलेक, लिम्पियाधुरा र कालापानी नक्सामा ल्याएर सस्तो लोकप्रियता कमाउनुभन्दा भूमी फिर्ता ल्याएर सीमाका नागरिकलाई गर्व महसुुस दिलाउन सरकारसँग आग्रह गरिन् ।
यस्तै चितवनमा आयोजित सभामा कांग्रेसका नेता गगनकुमार थापाले अहिलेको प्रश्न निर्वाचन र संसद् पुनःस्थापनाको नभएको बताएका छन् । नेता थापाले कांग्रेसको एजेण्डा संविधान जोगाउने रहेको स्पष्ट पारे । संविधान कांग्रेसको मात्र विधान नभएर सिङ्गो देश एक भएर लेखिएको दस्तावेज भएको बताउँदै नेता थापाले भने, ‘संविधानमा कांग्रेसको असहमति भए पनि यो साझा दस्तावेज बनेको छ ।’ सभामा केन्द्रीय सदस्य सरिता प्रसाईंले देश अप्ठ्यारोमा पर्दा कांग्रेसले नै निकास दिएको बताइन् ।