चुनाव बाध्यात्मक र अपरिहार्य कदम : प्रधानमन्त्री 

सोमबार, फागुन ३, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरुभित्र एकता कायम  गर्न ताजा जनादेशका लागि चालिएको राजनीतिक कदम भएको बताएका  छन् । वर्तमान सरकार गठन भएको तीन वर्ष पूरा भएका अवसरमा सरकारका उपलब्धिबारे जानकारी दिन आज आयोजित प्रेस बिफ्रिङमा उनले ताजा जनादेशको प्रस्ताव अराजकताको अन्त्य र राजनीतिक स्थिरताका लागि भएको स्पष्ट पारे । 
प्रधानमन्त्री ओलीले भने, ‘संविधानको रक्षा, राष्ट्रिय स्वाधीनता र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा परिपूर्तिको अविचलित यात्राको निरन्तरताका लागि हो । यो कदम हाम्रो लोकतान्त्रिक प्रणालीलाई ‘समीकरण र गठबन्धन’ को फोहोरी खेलबाट मुक्त गर्न चालिएको ‘बाध्यात्मक तर आवश्यक’ र अहिलेको लागि ‘अपरिहार्य’ कदम हो ।’
सरकार सञ्चालनका लागि जनतालाई फेरि एकपटक आपूmले रुचाएको दलको छनोट गर्ने मौका मिलेको बताउँदै उनले भने, ‘जनतालाई साक्षी राखी गरिएका कबूलहरु पूरा गर्न सत्तारुढ दलको अध्यक्ष एवं प्रधानमन्त्रीको हैसियतमा म प्रतिबद्ध छु । आगामी निर्वाचनबाट फेरि एकपटक अस्थिरताको खेती गर्न चाहनेहरुको दाउपेच चकनाचूर हुनेछ । मुलुकले स्थिर सरकार र राजनीतिक स्थायित्व प्राप्त गर्नेछ ।’ प्रधानमन्त्री ओलीले निर्वाचन लोकतान्त्रिक प्रणालीको जीवन भएको र लोकतन्त्रमा निर्वाचनले राष्ट्र वा पार्टीहरुलाई विभाजन नगरी एक बनाउने बताउँदै निर्वाचनको घोषणापछि विजय हासिल गर्न, निर्वाचनमार्फत आफ्ना उद्देश्य पूरा गर्न, अझ सुदृढ एकताका साथ अघि बढ्नुपर्नेमा विभिन्न निहुँ र बहाना बनाएर पार्टीलाई नै विभाजित गर्ने प्रयास गर्नु अपराध भएको टिप्पणी गरे । आगामी वैशाख १७ गते ४० र वैशाख २७ गते ३७ जिल्लामा निर्वाचनको घोषणा भएअनुुरुप निर्वाचन आयोगले आफ्नो तयारी तीव्रताका साथ गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘हामी अहिले निर्वाचनको क्रममा छौँ । केहीले अझै पनि चुनाव त हुन्छ भन्दै प्रश्न उठाएको सुन्छु । म जोड दिएर भन्न चाहन्छु, चुनाव हुन्छ । स्वच्छ, स्वतन्त्र र निष्पक्ष चुनाव हुन्छ ।’ ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा भएरै छाड्ने विश्वास व्यक्त गर्दैै प्रधानमन्त्री ओलीले निर्वाचनमा सक्रियताका साथ सहभागी भई निष्फिक्री आपूmले मन पराएको दलका जनप्रतिनिधिलाई चुन्न आमजनतालाई अनुरोधसमेत गरे । 

‘प्रतिनिधिसभा ‘राजनीतिक अस्थिरताको खेल मैदान’ बन्न नदिन विघटन’ 
प्रधानमन्त्री ओलीलेदुई तिहाइ नजीकको सरकारलाई काम गर्न नदिइएपछि ताजा जनादेशका लागि निर्वाचनमा जान प्रतिनिधिसभा विघटन गर्नुपरेको जिकिर गरेका छन् । ‘विगत वर्ष दिनदेखि समयभन्दाअगावै निर्वाचनको बाटोमा हिँड्न नपरोस भनेर अनेकौँ लाञ्छना सहेरै अप्ठ्यारो परिस्थितिलाई अन्यत्र मोड्ने प्रयास गरेको पनि हुँ, गठबन्धन सरकारको अर्काे कुनै समूहले झैँ आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्रीविरुद्ध अचानक फौजदारी अभियोग वितरण गरी पृथक बाटोबाट सरकारमाथि हमला गर्ने र सके विस्थापन गर्ने बाटोमा हिँड्न तम्सिरहेका नेतालाई सम्झाउने र स्थितिलाई परिवर्तन गर्ने प्रयत्न मैले गत पुस ५ गते दिउँसो दुई बजेसम्म नै जारी राखे’, प्रधानमन्त्री ओलीले भने । प्रतिनिधिसभाको बाँकी कार्यकाल ‘राजनीतिक अस्थिरताको खेल मैदान’ बनाउन नदिनका लागि निर्वाचनमा जान उपयुक्त हुने उनले बताए । प्रतिनिधिसभा विघटनको सिफारिसलाई संविधान विपरीत, जनादेशको अपहेलना, प्रतिगमन जस्ता आपत्तिजनक आरोप लगाइएको प्रति प्रधानमन्त्री ओलीले दुःख प्रकट गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  २१:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार