सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने र नयाँ निर्वाचन गराउने आफ्नो निर्णयको प्रतिरक्षा गर्दै ‘जनादेश राम्रो भईकन पनि जनादेशबाट आएका पात्रहरू उपयुक्त नभएकाले नयाँ पात्रहरूको लागि’ चुनावमा जान लागिएको दाबी गरेका छन् । संसद् विघटनको निर्णय विधिसम्मत रहेको तर्क गर्दै उनले त्यो ‘पद प्राप्तिका लागि नभई प्रणालीको रक्षाका लागि रहेको’ बताए । पुनर्निर्माण सम्पन्न भएको देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका तीनवटा मोहडाको उद्घाटन गर्ने क्रममा उनले भने ‘तीन वर्षका प्रमुख उपलब्धिहरू’को बारेमा प्रेस ब्रिफिङ गर्दै उनले आफ्ना कुराहरू राखेका हुन् । प्रधानमन्त्रीले उद्घाटन गरेसँगै अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनः सिंहदरबारस्थित मुख्य भवनबाट सञ्चालन हुनेछ । सरकार गठन भएको तीन वर्ष पुगेको अवसरमा आफ्नो नेतृत्वको सरकारको उपलव्ध सार्वजनिक गर्ने क्रममा उनले आफू लोकतान्त्रिक प्रणालीको विरुद्धमा नरहेको दोहो¥याएका छन् । उनले भने, ‘ताजा जनादेशका लागि निर्वाचनमा जाने कुरा पार्टीलाई एकजुट गराउने कुरा हो । पार्टीहरू बृहत्तर लोकतान्त्रिक मान्यता र विकासका लागि अगाडि बढाउने माध्यम निर्वाचन हो ।’ उनले ताजा जनादेश अराजकताको अन्त्यका लागि अत्यावश्यक र अहिलेको लागि अपरिहार्य रहेको दाबी गरे । प्रधानमन्त्री ओलीले ‘एकातिर जनताको उच्च आकाक्षा सम्बोधन गर्नुपर्ने र अर्काेतर्फ आफ्नै खुट्टा अल्झिएजस्तो भएको बताएका छन् । उनले संसदीय समितिमा अनावश्यक छलफल हुने, संसद्मा प्रस्तुत भएका प्रस्ताव समेत निर्णयार्थ प्रस्तुत नहुने गरेको आरोप लगाए । नियुक्तिहरूमा ‘समानान्तर सत्ता’ को रूपमा ‘आफ्नै दलका साथीहरु’ ले काम गर्न नदिएको भन्दै ओलीले त्यसको असर व्यवस्थापिकामा पर्न दिन नचाहेको बताए । संसद् विघटनअघि धेरैपल्ट सोचेको र त्यस्तो अवस्था नआओस् भनेर अन्तिम अवस्थासम्म समेत प्रयास गरेको भन्दै उनले पौष ५ को कदमको बचाउ गरेका छन् । संसद् विघटनका लागि आफूसामु धेरै विकल्पहरू नरहेको बताउँदै ओलीले ‘वैकल्पिक सरकारको कुनै सम्भावना नदेखिएको, विभिन्न समीकरणका खेलहरू सुरु हुने र देश अस्थिरतातर्फ जाने सम्भावना भएकोले त्यसबाट देशलाई जोगाउन आवश्यक रहेको’ भन्दै ‘प्रतिनिधिसभाको बाँकी कार्यकाललाई राजनीतिक अस्थिरताको अर्को खेलमैदान नबनाउन’ उक्त कदम चालिएको दाबी गरे । आफ्नो कदम प्रतिगमन नभएको तर्क गर्दै उनले आफूले बारम्बार निर्वाचन गराउने प्रतिबद्धता र तयारी गरिराखेको बताए । संसद् विघटनबाहेक आफू अन्य विकल्प नरहेको उनको दाबी थियो । ‘वैकल्पिक सरकारको कुनै सम्भावना नदेखिएको, विभिन्न समीकरणका खेलहरू सुरु हुने र देश अस्थिरतातर्फ जाने सम्भावना भएकोले त्यसबाट देशलाई जोगाउन आवश्यक रहेको भन्दै प्रतिनिधिसभाको बाँकी कार्यकाललाई राजनीतिक अस्थिरताको अर्काे खेलमैदान नबनाउन’ ताजा जनादेशमा जाने निर्णयमा पुगेको ओलीको भनाइ थियो । उक्त निर्णयलाई संविधानविपरीत, प्रतिगमनजस्ता शब्दावली प्रयोग गरिएको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे । ‘चुनाव हुनेबित्तिकै प्रतिगमन हुने भए एक–दुई वर्षमा त चुनाव भइ नै हाल्थ्यो । के मैले चुनाव गराउन्नँ, सधैँ शासनसत्तामा बसिराख्छु भनेँ ?’ उनले प्रतिप्रश्न गरे । संसदीय दलमा आफूविरुद्ध कुनै उजुरी नलगाईकन ‘एकजना व्यक्तिको लाञ्छनापत्रको’ आधारमा आरोपहरू लगाइएको बताए ।