ऋणले विस्थापित कटीगाउँ: जहाँ सुनाए पनि हुँदैन सुनुवाइ 

शुक्रबार, पुस २, २०७८

जाजरकोट, २ पुस । साहुको ऋणले गाउँ नै विस्थापित भयो भन्दा सबैलाई अचम्म लाग्छ, तर जाजरकोटको भेरी नगरपालिका–११ कटीगाउँका १५८ दलित समुदायका घरपरिवार कोही विस्थापित भएका छन्, कोही हैरानी ब्यहोरिरहेका छन् । बाजेको पालादेखि लिएको ऋण नातिले समेत भुक्तान गर्न नसकेपछि गाउँका अधिकांश दलित समुदाय विस्थापित भएका छन् । जति भारतबाट कमाइ ल्याए पनि साहुको ऋण तिर्न नै पुग्दैन, अधिकांश गाउँलेका जग्गासमेत साहुले लिइसकेको वडा सदस्य नन्दबहादुर विकले बताए । साहुको ऋण तिर्नका लागि भारत पुगेका धर्मबहादुर वरले भने, “ऋण तिर्न परिवारसहित भारत आएको छु, दुई वर्ष भइसक्यो रु तर जति दिए पनि कहिल्यै ऋणले छाड्दैन ।” अर्का पीडित गोब्लो लुहारले पनि दुई वर्ष पहिला घरजग्गा साहुलाई दिएर गाउँ छोडी कोठियाघाट पुगेको टेलिफोनमार्फत बताए । छ जनाको परिवारसहित कटीगाउँ छाडेका गोब्लो बर्दिया कोठियाघाटको ऐलानी जग्गा खनेर बसोबास गरिरहेका छन् । ऋण तिर्न नसकेपछि स्थानीय वीरमान विकको परिवार पनि एक वर्षदेखि विस्थापित जीवन बिताउन बाध्य छन् ।

साहुको ऋण तिर्न नसकेर गाउँ छाड्न बाध्य भएका यी त प्रतिनिधि पात्र मात्र हुन् । कटीगाउँका १५८ घरधुरीका दलित समुदायमध्ये साहुको रु पाँच लाखदेखि आठ लाखसम्मको ऋण नभएका कोही पनि नभएको वडा सदस्य विकले जानकारी दिए । हालसम्म कटीगाउँबाट सरकारी जागिर खानेहरूमध्येका दीपक विक मात्र एक जना हुन् । विसं २०५९/६० तिर नेपाली सेनाको जवानमा भर्ती भएका दीपकले जागिर खाएपछि भेरी नगरपालिका–१३ कुदुमा घरजग्गा किनेर बसाइँसराइ गरिसकेका छन् । त्यस गाउँबाट हालसम्म एसएलसी पास गरेर अमृत विकले पश्चिम रुकुम चौरजहारीस्थित शीतल बहुमुखी क्यापसबाट बिएड पास गरेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १४:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार