सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रहरीले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ रिहा गरेको हो । पक्राउपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो । प्रहरीले आफैं पक्राउ पुर्जी जारी गर्दै झाँक्रीलाई शंखमूलस्थित उनको निवासबाटै नियन्त्रणमा लिएको थियो । प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिएको छ । झाँकी पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्काे विरोध र सरकारको आलोचना भएको थियो । नेकपा दाहाल–नेपाल समूह निकट युवा विद्यार्थीले अपराह्न माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म विरोध प्रदर्शन गरे । नेकपाको दाहाल–नेपाल समूहकी झाँक्रीलाई प्रहरीले राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै बिहीबार शंखमूलस्थित निवासबाटै पक्राउ गरेको थियो । यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो । लगत्तै सादा पोसाकका प्रहरी शंखमूल पुगेका थिए । झाँक्रीले उनीहरूलाई पहिले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् ।
‘राष्ट्रपतिको आलोचना गरेकोमा पश्चात्ताप छैन’ नेकपा केन्द्रीय सदस्य झाँक्रीले प्रहरी हिरासतबाट रिहाइपछि राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति आफूले दिएका अभिव्यक्तिमा कुनै पश्चात्ताप नभएको बताएकी छन् । अहिलेको लोकतन्त्रिक व्यवस्थाका लागि आफूहरू लडेको र आगामी दिनमा पनि लड्ने भन्दै झाँक्रीले भनिन्, ‘लोकतन्त्रको पक्षमा लडिरहेको मान्छे हो म । जसले संविधानको धज्जी उडाउँछ, विधिलाई मान्दैन त्यस्ता प्रवृत्तिको विरुद्ध आज पनि सडकमा छौं ।’संवैधानिक राष्ट्रपति संस्थाप्रति आफ्नो सधैं सम्मान रहेको र त्यसमा जाने व्यक्तिहरूको आलोचना गर्दा कुनै पश्चात्ताप गर्न नहुने झाँक्रीले भनिन् । ‘संविधानले व्यवस्था गरिएको संवैधानिक पदहरूका प्रति हाम्रो जहिले पनि हाम्रो सम्मान छ । त्यहाँ रहने व्यक्तिहरूका क्रियाकलापका प्रति आलोचना भएको हो । त्यसमा रिग्रेट गर्नुपर्ने कुरा केही पनि छैन’, उनले भनिन् ‘राष्ट्रपति सम्माननीय संस्था हाम्रो आन्दोलनद्वारा स्थापित गरिएको राष्ट्रको सर्वाेच्च संस्था हो । संवैधानिक राष्ट्रपतिप्रति जहिले पनि सम्मान छ ।’ ‘राष्ट्रपति संस्था हाम्रो आन्दोलन, लडाइँले स्थापित गरेको हो । तर, त्यहाँ पुग्ने पात्रहरूले जे प्रवृत्ति देखाउँछन, संविधान र कानुनको धज्जी उडाउँछन तिनका प्रतिको लडाइँमा सडकमा बाँकी छ’ उनले भनिन् ।