राज्यविरुद्धको अपराधमा नेकपा नेत्रृ झाँक्री पक्राउ

कार्यकर्ताको नारावाजीबा कारण धेरै बेर रोकियो प्रहरी 
बिहीबार, माघ २९, २०७७

काठमाडौं । प्रहरीले राज्यविरुद्धको अपराध गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ ।
महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले उनकै निवास काठमाडौँ महानगरपालिका–३१ स्थित शङ्खमूलबाट पक्राउ गरेको हो । गोरखाको एक कार्यक्रममा राष्ट्रपतिविरुद्ध टिप्पणी गरेपछि उनको आलोचना हुँदै आएको थियो । सोही विषयमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो । राज्यविरुद्धको अपराधअन्तर्गत दफा ५८ को कसुरमा पक्राउ पूर्जी जारी गरी झाँक्रीलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए । उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ । उक्त दफाको उपदफा (१) मा कसैले नेपालको राष्ट्रपति वा संसद्लाई संविधान तथा कानूनबमोजिम गर्नुपर्ने कार्यसम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न बाध्य गराउन नहुने, कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमको दबाब दिन नहुने उल्लेख छ । उपदफा २ मा दफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा रु ७० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारवाहीको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । पक्राउको विरोधमा उनका समर्थकले चर्का नाराबाजीसहित प्रदर्शन गरेका थिए । पक्राउ हुनुअघि झाँक्रीले आफूले कानूनको पालना गरेको जिकिर गरेकी छन् । 

को हुन् रामकुमारी झाँक्री ?
हालै विघटन भएको प्रतिनिधिसभामा रामकुमारी झाँक्री नेपाल कम्युनिष्ट पार्टी नेकपाको समानुपातिक तर्फबाट सांसद् थिइन् । हाल नेकपाको दाहाल–नेपाल खेमामा रहेकी उनी पार्टीको केन्द्रीय सदस्य हुन् । उनी विद्यार्थी राजनीति पृष्ठभूमिबाट आएकी हुन् । २०६५ सालमा तत्कालीन नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको पोखरा–महाधिवेसनबाट उनी अध्यक्ष भएकी थिइन् । सो पदमा निर्वाचित हुने उनी पहिलो महिला बनेकी थिइन् 
झाँक्रीलाई रिहा गर्न दाहाल–नेपाल समूहको माग 
दाहाल–नेपाल नेतृत्वको नेकपाले प्रेस विज्ञप्ति जारी गर्दै राम कुमारी झाँक्रीलाई गिरफ्तार गरेर सरकारले ‘घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्र उदाङगो पारेको’ भन्दै रिहाइको माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही होइन ।’ गिरफ्तारी दिनुअघि उनले राज्यले अभिव्यक्ति स्वतन्त्रताविरुद्ध अंकुश लगाउन खोजेको आरोप लगाएकी थिइन् । उनलाई राज्यविरुद्धको कसुर दफा ५८ बमोजिम पक्राउपुर्जी दिइएको छ ।  आफ्नो निवासबाहिर भेला भएका कार्यकर्ताहरूको नाराबाजीका बीच नेकपा नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउपुर्जी दिएको हो ।  झाँक्रीलाई पक्राउ गर्न प्रहरीको एउटा टोली शंखमूलस्थित निवासमा पुगेपछि कार्यकर्ताले नाराबाजी गरेका थिए । प्रहरी आएको थाहा भएपछि भेला भएका पार्टी कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नारा लगाएका थिए । कार्यकर्ताको भिड र नाराबाजीका कारण केहीबेर प्रहरी बाहिरै रोकिएको थियो । त्यसपछि एक प्रहरी अधिकारी निवासमा प्रवेश गरेर नेत्री झाँक्रीसँग कुराकानी गरेका थिए ।


 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  १७:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार