सोसल मिडिया
Contact Us
युनिकोड
नेपिदअ । अमेरिकी राष्ट्रपति जो बाइडनले कू गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार–व्यवसायप्रति लक्षित हुनेछ । अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम पनि चालिँदैछ । कूविरुद्ध प्रदर्शनका क्रममा मंगलबार गोली लागेर घाइते भएकी एक महिला राजधानी नेपिद्अस्थित एउटा अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेका बेला अमेरिकाले पछिल्लो कदम चालेको हो । प्रतिबन्धको अवज्ञा मंगलकार प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली तथा ताकेरै गोली प्रहार गरेका थिए । म्यान्मारमा गत साता सेनाले सत्ता कब्जा गरेयता त्यसको विरोधमा हजारौँ मानिसले प्रदर्शन गर्दै आएका छन् । नेत्री आङ सान सू चीको जननिर्वाचित सरकारलाई सत्ताबाट च्युत गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । सू चीसहित कैयौँ वरिष्ठ नेतालाई सेनाले नजरबन्दमा राखेको छ । तर ठूला जमघटहरू गर्न नपाइने नियम तथा रात्रिकालीन कफ्र्युको अवज्ञा गर्दै मानिसहरूले सेनाको विरोधमा प्रदर्शन गर्न छोडेका छैनन ।
बाइडनले के माग गरेका छन् ? अमेरिकी राष्ट्रपति बाइडनले सेनालाई आफ्नो कदम फिर्ता लिन र सू चीसहित जननिर्वाचित नेताहरूलाई रिहा गर्न माग गरेका छन् । आवश्यक परेको खण्डमा थप कदम चाल्ने बताउँदै बाइडनले भने, ‘म्यान्मारका जनताले आफ्नो आवाज सुनाउँदैछन् र विश्वले सबै हेरिरहेको छ ।’ पहिलो चरणमा प्रतिबन्धको निशानामा पर्नेहरूको पहिचान यसै साता आफ्नो प्रशासनले गर्ने बाइडनले बताएका छन् । यसअघि रोहिंज्या मुस्लिमहरूविरुद्ध दमन गरेको आरोपमा म्यान्माका कैयौँ वरिष्ठ अधिकारीहरूलाई अमेरिकाले कालोसूचीमा राखिसकेको छ ।–बीबीसी