दाहाल–नेपाल समूहद्वारा राजधानीमा दोस्रो पटक शक्ति प्रदर्शन

‘संवैधानिक निकाय’लाई गल्ती नगर्न चेतावनी 
बुधबार, माघ २८, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि सत्तारुढ नेकपाका दुई समूह पुष्पकमल दाहाल–माधवकुमार नेपाल र ओली समूह एकअर्काप्रति कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । नेकपा दवै समूह जनमत आफ्नो पक्षमा पार्न दिनहुँ जसो आमसभा गर्ने होडबाजीमा छन् । २३ गते ओली समूहले राजधानीको दरबार मार्गमा अढाइ लाख मानिस उतारेको दाबी गरेको पाँच दिनपछि दाहाल–नेपाल समूहले ओली समूहको दाबीलाई माथ गर्ने गरी कार्यकर्ता राजधानीका सडकमा उतारेको दाबी गरेको छ । ओली समूहको जनसभालाई प्रभावित गर्ने गरी गत बिहीबार दाहाल–नेपाल समूहल आम हडतालसम्म आयोजना ग¥यो । दाहाल–नेपाल समूहले यसअघि माघ ९ गते यस्तै आमसभा काठमाडौंमा गरिसकेको छ । यो समूहले प्रदेशका राजधानीमा पनि ओलीको संसद् विघटन गर्ने ‘प्रतिगामी’ निर्णयबारे जानकारी दिँदै आएको छ । 


संघर्ष समितिको आयोजनामा बुधबार भएको आमसभामा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ओलीको चर्काे आलोचना गरे । 


विरोधसभामा बोल्दै प्रचण्डले अहिले जारी आन्दोलनको उद्देश्य केपी ओलीलाई परास्त गर्नु नभएर प्रवृत्तिलाई परास्त गर्नु रहेको दाबी गरे । 
दाहालले सम्बोधनका क्रममा सर्वाेच्च अदालत र निर्वाचन आयोगलाई छिटो फैसला र निर्णय गर्न आग्रह गरेका छन् । अदालतले संसद् विघटनको पक्षमा फैसला गरेमा ठूलो आँधीहुरी आउने भन्दै सजिलो नठान्न दाहालले चेतावनी दिएका छन् ।
‘ढिलो नगरी फैसला गर्नुहोस्, जनताको विपक्षमा फैसला गरेमा दुर्भाग्य हुनेछ त्यो जनतालाई सह्य हुनेछैन’, दाहालले भने, ‘जनताको विरुद्धमा फैसला भएमा आँधी आउँछ हुरी आउँछ कसैले थाम्न सक्दैन ।’
ओलीले सनकको भरमा संसद् विघटन गराएको आरोप लगाउँदै नडराई फैसला गर्न आग्रह गरे । उनले भने, ‘डराएर फैसला नहोस् ।’  निर्वाचन आयोगलाई छिटो निर्णय दिन आग्रह गरे । आयोगको भुमिकाप्रति आशंका गर्दै भने,‘कसैले सजिलो नठाने हुन्छ ।’ आयोगलाई खुट्टा नकमाउन आग्रह गरे । उनले ओलीले हिजो आयोगमा गएर बोलेको विषयलाई काइते भन्दै त्यसको पछाडि नलाग्न भने ।


अदालतको फैसला र अयोगको निर्णय आफूहरुको विपरित आएमा कडा आन्दोलन गर्ने चेतावनी दिँदै दाहालले भने , ‘१० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न नपरोस् ।’ ‘कुर्सी चाहिएको होइन, नेपाली जनताको हक अधिकार चाहिएको हो’, उनले भने ।
‘निर्वाचन आयोगले लक्षण राम्रो देखाएको छैन । ७० प्रतिशत सदस्य एकातिर हुँदा त्यसलाई हिसाब नगर्ने तर केपी ओलीले धम्क्याउनेबित्तिकै उतै लाग्ने ?’ दाहालले भने ।
टाउको गनेर आधिकारिकता टुग्याउन माग
दाहालअघि बोेलका नेकपाका अध्यक्ष माधवकुमार नेपालले दलको आधिकारिकतासम्बन्धी विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई धम्क्याइरहेको बताएका छन् । उनले निर्वाचन आयोगले पार्टीको केन्द्रीय समितिको बहुमतको परीक्षण गरेर नेकपाको आधिकारिकतासम्बन्धी विवाद टुङ्गो लगाउनुपर्ने बताए ।
नेता नेपालले भने, ‘केपी ओली बहुमतको शासन मान्न तयार छन् भन्ने निर्वाचन आयोगमा मार्च गरेर गणना गरौं । उनको पक्षमा १०० जना उभिन्छन् । हाम्रो पक्षमा ३०० जना उभिएका छन् । निर्वाचन आयोगले अन्यथा निर्णय गर्न पाउँदैन ।’‘आयोगलाई कुनै दुविधा छ भने ४४१ जनालाई बोलाएर टाउको गने हुन्छ’ नेपालले भने ।
निर्वाचन आयोगमा गएर ओलीले आफू नेकपाको पहिलो अध्यक्ष भएको बताए पनि पार्टीको विधान र अन्य आधिकारिक दस्तावेजले उनलाई त्यस्तो हैसियत नदिएको नेता नेपालको दाबी थियो । पूर्वप्रधानमन्त्री नेपालले ओलीको असंवैधानिक कदमको विरुद्धमा आज यो विशाल विरोध सभा भएको बताएका छन् । 
सभामा उनले भने, ‘केपी ओलीजी तपाईंले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ । अब त्यो नाम पनि विर्सिसक्नु भएको छ । अब पशुपतिनाथको मन्त्र जप्न थाल्नुभएको छ । तर, पशुपतिनाले कसलाई माया गर्छन् ? थाहा छ ? जो मानिस असल छ, जो मानिस राम्रो प्रवृत्तिको छ, जसले धर्म गर्छ, पाप गर्नेलाई पुशपतिनाथले पनि माया गर्दैनन् ।’  
जनआन्दोलनको आगो दन्कनेछ : खनाल
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा जनआन्दोलनको आगो दन्कने चरणमा पुगेको बताएका छन् । उनले प्रतिक्रान्तिविरुद्ध अर्काे क्रान्ति गर्ने चेतावनी पनि दिन छुटाएनन् । ‘अब जनआन्दोलनको आगो दन्कनेछ’ खनालले भने,‘यो दुईवटा गुटको आन्दोलन होइन, प्रतिक्रान्तिविरुद्धको अर्काे क्रान्ति हो ।’ खनालले  ओली राजनीतिक र सैद्धान्तिक रुपमा पराजित भइसकेको तर्क गरे । ओली राजनीतिक रुपले पराजित भइसकेकाले पशुपतिनाथको शरणमा पुगेको बताए । उनले भने,‘ओली राजनीतिक रुपले पराजित भइसके । पशुपतिनाथमा गएर संकल्प पूजा गर्ने अवस्थामा पुगिसके ।’ ओलीले विज्ञान र माक्र्सवादमा विश्वास गर्न छाडेको बताए । अब पशुपतिनाथमा मात्र विश्वास गरिरहेको बताए । निर्वाचन आयोगलाई नेकपाको आधिकारिताबारे छिटो छिनोफानो गर्न उनको आग्रह थियो । ढिलो गर्दा अप्ठ्यारो आउनसक्ने उनको भनाई थियो ।

ओलीलाई प्रधानमन्त्रीको पदमा बस्ने वैधानिकता छैन् : नारायणकाजी
नेकपा दाहाल–नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर निरंकुश र प्रतिगामी कदम चालेकोले आफूहरु ओलीको कदमलाई असफल बनाउन सडकमा उत्रिएको टिप्पणी गरेका छन् ।  भृकुटीमण्डपको जनसभामा  उनले भने, ‘प्रधानमन्त्री ओलीलाई एक मिनेट पनि पदमा बस्ने वैधता छैन ।’

प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  १८:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार