नेकपाको दाहाल–नेपाल समूहद्वारा भृकुटीमण्डपमा आमसभा 

संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदमको तीब्र आलोचना 
बुधबार, माघ २८, २०७७

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले बुधबार  भृकुटीमण्डपमा गरेको  आमसभामा बोल्ने नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदम प्रतिगामी भन्दै तीब्र असन्तुष्टि व्यक्त गरेका छन् । नेकपा दाहाल–नेपाल समूहले गठन गरेको संघर्ष समितिको संयोजनमा भएको आमसभामा ठूलो मात्रामा नेता– कार्यकर्ताको उपस्थिति रहेको छ । प्रधानमन्त्रीको संसद् विघटन गर्ने कदमपछि स्पष्ट दुई खेमामा विभाजित नेकपाका दुबै खेमाले एकपछि अर्काे आमसभा–जनप्रदर्शन गर्दै आएका छन् । यसअघि माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले दरबारमार्गमा जनसभा गरेको थियो । विरोधसभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिएको थियो । त्रिपुरेश्वर, कालीमाटी, नयाँ बानेश्वर, माइतीघर, लैनचौर, बागबजार, मैतीदेवीालगायत विभिन्न स्थानबाट जुलुस निकालिएको थियो । 
सभालाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गरिसकेका छन् । प्रतिनिधिसभा विघटन भएसँगै त्यसको विरोधमा  दाहाल–नेपाल समूहले प्रदर्शन तथा सभा गर्दै आइरहेको छ । आज सभामा सहभागी हुन देशका विभिन्न स्थानबाट मानिस आएका छन् । यसअघि उक्त समूहले यही माघ ९ गते राजधानीमा प्रदर्शन गरेको थियो । 
 

प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  १५:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार