अब चुनाबबाटै भावी सरकारको निक्र्यौल : प्रधानमन्त्री

नारायणहिटी राजदरबार अगाडि प्रधानमन्त्रीको सभा 
शुक्रबार, माघ २३, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय नेकपाले शुक्रबार राजधानीको दरबारमार्गमा जनसभा गरेको छ । विभिन्न स्थानबाट निस्केको जुलुस दरबारमार्गमा पुगेर जनसभामामा परिणत भएको थियो । ओली समूहको वाग्मती प्रदेश समितिले नारायणहिटी राजदरबारअगाडि जनसभा आयोजना गरेको हो । सभामा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रिपरिषद्दका सदस्य सहभागी भएका थिए । जुलुस र जनसभाका कारण दरबारमार्ग नजिकैका क्षेत्रमा सवारीसाधनको आवतजावत प्रभावित भए । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चुनावतर्फ गएको भन्दै अब चुनावले नै भावी सरकारको निक्र्याेल गर्ने बताएका छन् । उनले दाहाल–नेपाल समूहले अदालत र निर्वाचन आयोगलाई धम्की दिए पनि देशका निकायहरू स्वतन्त्र रहेको र उनीहरूले विवेकसम्मत ढङ्गले निर्णय गर्ने बताए । दरबारमार्गमा आयोजित आमसभामा ओलीले भने, ‘अब देश चुनावतर्फ गयो, गयो । अब चुनावले फैसला गर्छ कसको सरकार बन्छ । चुनावले सबै कुराको फैसला गर्छ ।’ ओलीले दाहाल–नेपाल पक्षले निर्वाचन आयोगलाई चुनावको तयारी नगर्न भनेको उल्लेख गर्दै निर्वाचन गराउँदा नभई ‘केही मान्छे कुनामा बसेर षड्यन्त्र गरेर अरूका लागि काम गर्दा’ देश सङ्कटमा पर्ने बताए । ओलीले नेपाली जनता सचेत भएकाले कसैले पनि लोकतन्त्र खोस्न वा प्रतिगमन निम्त्याउन नसक्ने बताए । उनले सरकारलाई काम गर्न नदिइएपछि प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीसँग भएको दाबी गरे ।

‘मेरो नेतृत्वको समूह सक्कली नेकपा’ 
प्रधानमन्त्री ओलीले आफूले नेतृत्व गरेको समूह नै मूल नेपाल कम्युनिस्ट पार्टी भएको जिकिर गरेका छन् ।  सभालाई सम्बोधन गर्ने क्रममा ओलीले राजधानीको सबैभन्दा ठूलो ठाउँ छान्दा पनि मानिसहरू नअटेको भन्दै यसबाट पार्टीको आधिकारिकताको फैसला भएको बताए । उनले भने, ‘मूल पार्टी कुन हो भनेर अहिले पनि कोही अलमलमा छ भने कठैबरा भन्न सकिन्छ । यही हो जहाँ तपाईं हामी छौँ । कम्युनिस्ट पार्टीको मात्र नभफ देशकै मूल पार्टी हो ।’ ओलीले थपे, ‘मलाई लाग्छ आजबाट कुन पार्टी सक्कली कुन पार्टी नक्कली भन्ने फैसला भयो ।’ सहभागीहरूलाई तर्साउन खोजिए पनि इतिहासकै सबैभन्दा ठूलो जनसभा आयोजना गरिएको दाबी ओलीले गरे । उनले दाहाल–नेपाल समूहको ‘मांसाहारी आन्दोलनु गर्ने उद्घोषप्रति कटाक्ष गर्दै अब ‘नरभक्षी आन्दोलन’ हुन नसक्ने बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न सक्दैन’
प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् । नारायणहिटी दरबार संग्राहलय अगाडि शुक्रबार आयोजित सभामा ओलीले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताए । उनले भने, ‘जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, त्यो केपी आलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे ।’ आफूहरुले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने उनको धारणा थियो ।  २–४ हजार मान्छे जम्मा गरेर को हो मुल पार्टी भनेर लल्कार्ने काम भएपछि आफूहरुले सभा गर्नु परेको ओलीको धारणा थियो ।  यो त कास्टिङ मात्र भएको भन्दै उनले काठमाडौंका सबै सडकमा स्क्रिनहरु राखेर सभा गर्नुपर्ने दिन आउनसक्ने बताए ।

ओली पक्षबाट कसैलै आधिकारिकता खोस्न नसक्ने’
उपप्रधानमन्त्री ईश्वर पोखरेलले केपी ओलीले नेतृत्व गरेको नेकपाको आधिकारिकता कसैले तोड्न नसक्ने बताएका छन् । जनसभामा उनले भने, ‘सूर्य चिह्न नेतृत्वको नेकपाले प्राप्त गर्नेछ । हामी सूर्य चिह्न लिएर जनताको आधिकारिक जनादेश लिन जानेछौं ।’ नेकपाको दाहाल–नेपालसमूहले आफ्नो समूह आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा यसै साता दाबी पेस गरेको थियो । जनसभामा पोखरेलले दाहाल–नेपाल पक्षले बिहीबार आयोजना गरेको आमहडतालको निन्दा गर्दै ट्याक्सी तोडफोडका सहितका पिडीतलाई क्षतिपूर्ति दिने बताए ।
मांसाहारी आन्दोलन’ गर्नेलाई कारबाहीको चेतावनी
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा गृहमन्त्री रामबहादुर थापाले ‘मांसाहारी आन्दोलन’ सह्य नहुने र राज्यले त्यस्तो आन्दोलन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । जनसभामा बोल्दै उनले दाहाल–नेपाल समूहको नेकपा ‘प्रतिगामी अवसरवादी’ भएको टिप्पणी गरे । उनले पार्टीको अध्यक्ष, प्रधानमन्त्री र राष्ट्रपति तीनै जनालाई अपदस्थ गर्ने षड्यन्त्र भएपछि अस्थिरता आउन नदिन चुनावको घोषणा गरिएको बताए । उनले वैशाखका लागि घोषणा भएको चुनाव आन्दोलनजस्तै भएको उल्लेख गर्दै त्यसलाई जनताको साथ लिएर सफल बनाउने दाबी गरे । प्रचण्डले केही दिनअघि दिएको ‘मांसाहारी आन्दोलन’ बारे टिप्पणी गर्दै गृहमन्त्रीले भने, ‘मांसाहारी आन्दोलन गर्नेहरूलाई हाम्रो संविधान र कानुनले अपराध घोषणा गरेको छ । ती मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको जूमा लगेर बन्द गरिनेछ ।’ थापाले जनताले मात्रै अब वामपन्थी दलहरूलाई एकजुट बनाउन सक्ने दाबी गरे । ‘थापाले तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन्  । सम्बोधनका क्रममा उनले भने, ‘आज यो असाधारण परिस्थिति सुरु हुनुको पछाडि राजनीतिक सत्ता र राजनीतिक नेतृत्वको प्रश्नसँग जोडिएको छ । यो परिस्थिति उत्पन्न हुनुका पछाडि राजनीतिक सत्ताको केन्द्रीय प्रश्न प्रधानमन्त्रीसँग जोडिएको हुन्छ । प्रमुख पार्टी नेतृत्व र राष्ट्रपतिसँग जोडिएका छ । यी तीनवटै व्यक्तिलाई अपदस्थ गर्ने षड्यन्त्र सुरु भएको छ ।’ 
 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १६:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार